तानसेन । पाल्पामा अण्डा बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी समेत रहेका बगनासकाली गाउँपालिका वडा नं. १ गाप्टुङ घर भई हाल बुटवल उप महानगरपालिका ११ मझुवा बस्ने अन्दाजी ४६ वर्षीय बिनोद ढुङ्गाना र स्याङजाकाे गल्याङ नगरपालिका -७ घर भई हाल रूपन्देही मझुवामा भाडामा बस्दै आएका ४८ वर्षीय रेशम सुनार रहेको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका पूर्वखोला गाउँपालिका-५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडि अचानक सडकदेखि खस्दा चालकसहित ३ जना घाईते भएका थिए।
गम्भीर घाइते भएका ढुंगानालाई उपचारका लागि लुम्बिनी मेडीकल कलेज प्रभास पाल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए। यस्तै सुनारलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेनमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको सूचना अधिकारी मल्ले बताए।
दुर्घटनामा घाइते भएका सवारी चालक जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं. ११ बस्ने ३० वर्षीय राजु खड्काको अवस्था गम्भीर रहेको हुँदा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
अण्डा लोड गरेको बोलेरो जिप सडकदेखि तीन सय मिटर तल खसेको थियो। दुर्घटानाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ




















