सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

तानसेन। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खडक खण्ड अन्तरगत सिद्धबाबा मन्दिर नजिकै खसेको पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बेलुका वर्षासंगै खसेको पहिरोमा परी रामपुर नगरपालिका वडा नं. ५ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ५१ प ६६३३ नम्बरको मोटरसाइकमा पाल्पादेखि बुटवलतर्फ जाँदै गर्दा पहिरोमा परी गम्भीर घाइते भएका भण्डारीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि सवार भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएकी छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए।

वर्षासंगै पहिरो खसेर अवरुद्ध भएको तासने बुटवल सडक खण्ड पहिरो पन्छाएपछि सुचारु भएको छ । यसैबीच जिल्ला सुरक्षा समितिको बैठक बसेर विपद्जन्य जोखिम न्यनीकरणका लागि पाल्पाका मुख्य र सहायक राजमार्गका अत्यावश्यक काम बाहेक रातिका सवारी संचालन गर्न रोक लगाउने निर्णय समेत गरेको छ स्थानीय प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer