काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ ।
देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भेग तथा मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाले आज बिहान ६ः ०० बजे जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।





















