बहुपत्नी राख्न पाउने मस्यौदा खरेजीको माग गर्दै ज्ञापनपत्र

तानसेन ।बहुुविवाह (बहुपत्नी) राख्न पाउनेगरी तयार भएको मस्यौदाको विरुद्धमा प्रतिपक्ष दलका महिला संगठनहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । पाल्पामा रहेका ६ महिला संगठनका महिलारुले प्रमुख जिल्ला अधिकारीमार्फत  ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्था लागू भए पश्चात जनताद्वारा चुनिएका संविधानसभा सदस्यहरुबाट बनेको नेपालको संविधान २०७२ को मौलिक हकको मर्म विपरीत हाल सरकारले प्रचलित मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११, बिवाह सम्बन्धी कसुर अन्तर्गतको दफा १७५ लाई परिमार्जित गरि २०७५ भाद्र १ गतेदेखि बहुबिवाह पूर्णत बन्देज गरेको प्रावधानलाई, निश्चित परिस्थितिमा बहु विवाहलाई मान्यता दिई, एक पुरुषले बहुपत्नी राख्न सक्ने गरी दफाहरुमा थप तथा संशोधन गर्दै मसौदा तयार गरेको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

ध्यानाकवर्षण पत्रमा भनिएकाे छ -“नेपालले २०४६ सालको जनआन्दोलन पश्चात विभिन्न मानव अधिकार, महिला अधिकार तथा बाल अधिकार सम्बन्धी अन्तराष्ट्रिय सन्धी, महासन्धिहरुमा हस्ताक्षर गरी अनुमोदन समेत गरिसकेको सन्दर्भमा ती कानून तथा संविधानको मर्म विपरीत कुनै पनि शर्तमा बहुपत्नी राख्न पाउने कानुन बन्नु भनेको सिंगो देशलाई नै अराजकता तर्फ डोऱ्याउनु हो।, यसले दुरगामी रुपमा महिला माथि मात्र होइन सम्पुर्ण समाजलाई नै हिंसामा पार्ने निश्चित छ। यो मानव अधिकार, लैङ्गिक समानता र हाम्रो मुल्यमान्यताको पनि विरुद्धमा छ। तसर्थ सरकारको यस प्रकारको जनघाती कदम प्रती पाल्पामा क्रियाशील हामी तपसिलका महिला संघरसंगठनको कडा विरोध छ ।”

पत्रमार्फत महिलाको संवैधानिक अधिकारलाई सुरक्षित गर्न जोडदार माग गरेको नेकपा माओवादी केन्द्रकी नेता एवं सविधानसभा सदस्य तुलसा रानाले जानकारी दिइन् ।

ज्ञापनपत्र बुझाउनका लागि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पाल्पा, रास्वपा महिला विभाग पाल्पा, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन पाल्पा, अखिल नेपाल महिला संघ (समाजबादी) पाल्पा, अखिल नेपाल महिला संघ पाल्पा र राष्ट्रिय महिला मोर्चा पाल्पाका केन्द्र तथा जिल्लास्तरका नेताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया