रम्भाको एकीकत घुम्ती शिविरबाट पाँच हजार बढी स्थानीय लाभान्वित

तानसेन। पाल्पाको रम्भा गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती शिविरबाट पाँच हजार बढी स्थानीयले सेवा लिएका छन् । पालिकाभित्रका विभिन्न वडामा संचालन गरिएको शिविरबाट पाँच हजार ४२२ जना नागरिकले गाउँमै सेवा लिएका हुन् ।

भौगोलिक विकटताका कारण सेवा लिन कठिनाइ भएका नागरिकलाई लक्षित गर्दै गाउँपालिकाले हुमिन, ताहुँ, फोक्सिङकोट, हुँगी र पिपलडाँडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो। गाउँपालिकाले प्रदान गर्ने सबै प्रकारका सेवाहरु शिविरमार्फत वडामार्फत उपलब्ध गराइएको थियो । शिविरमा सबै प्रकारका रोगको जाँच गरी उपचार, परामर्श तथा प्रेषण स्वास्थ्य सेवा ९ सय ७४ जनाले लिएका छन्।

विभिन्न रोगको निदानका लागि निःशुल्क प्रयोगशाला सेवा १ सय १६ जनाले लिएका छन्। ५८ जनाको एचपीभी डीएनए विधिबाट स्वाब संकलन गरिएको छ। शंकास्पद क्षयरोगी तीन जनाको खकारको नमुना संकलन गरिएको छ। १ सय २८ जनाको पाठेघरको मुखको क्यान्सर (भीआईए) जाँच गरिएको छ। पाठेघर खसेका ६ जनामा रिङ प्रेसरी राखिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक महेश आचार्यले बताए। ५५ जना महिलाले सेतो पानी बग्ने तथा यौन रोगको उपचार सेवा लिएका छन्।

तीन जनाले परिवार नियोजनका साधन आइयुसिडी र इम्प्लान्ट राख्ने तथा झिक्ने सेवा लिएका छन्। गर्भवती लक्षित ग्रामीण भिडियो एक्स–रे सेवा १४ जनाले र सामान्य भिडियो एक्स–रे सेवा पाँच जनाले लिएका छन्। यो जानकारी स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले दिएका हुन्।

शिविरमा आयुर्वेद सेवाअन्तर्गत स्तनपान गराइरहेका १७ जना आमालाई सतावरी चूर्ण वितरण गरिएको छ। चार सय ७८ जनालाई सबै रोगको जाँच, उपचार, परामर्श तथा प्रेषण सेवा दिइएको गाउँपालिकाले जनाएको छ। ६३ जनालाई मोतियाबिन्दु निदानपछि निःशुल्क अप्रेसनका लागि प्रेषण गरिएको छ।

घुम्ती शिविरमा ८ सय १२ जनाले आँखा जाँच, उपचार, परामर्श तथा प्रेषण सेवा लिएका छन्। मोतियाबिन्दु निदान भएकामध्ये ५४ पुरुष र ९ महिला गरी ६३ जनालाई निःशुल्क अप्रेसनका लागि सिफारिस गरिएको छ।

यसैगरी, १ हजार ४१६ जनालाई कृषि प्रविधिसम्बन्धी सल्लाह, परामर्श तथा औषधि वितरण गरिएको छ। ९ सय ८४ जनालाई पशुपंक्षीसम्बन्धी सल्लाह, परामर्श तथा औषधि वितरण गरिएको छ। २५ वटा ज्येष्ठ नागरिक परिचयपत्र, एक वटा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। ७३ वटा योजना सम्झौता, ३० वटा व्यवसाय तथा टोल विकास संस्था दर्ता–नवीकरण, सात जनालाई श्रम स्वीकृति तथा परामर्श सेवा र १ सय ५४ जनालाई विविध सेवा उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए।

शिविरमा सबै वडाका नागरिकको उत्साहजनक सहभागिता रहेको जनाइएको छ। स्थानीय तहका नागरिकलाई एकै स्थानमा एकीकृत रूपमा सेवा दिँदा सेवाग्राहीको समय, श्रम र खर्च बचत हुनुका साथै गाउँपालिका केन्द्रसम्म धाउनुपर्ने बाध्यतामा कमी आएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए। शिविरले दुर्गम तथा पिछडिएका समुदायका नागरिकलाई सेवा लिन सहज बनाउनुका साथै सेवाप्रति जनचेतना, पहुँच, प्रभावकारिता र विश्वाससमेत बढाएको उनको भनाइ छ।

-साभार इकान्तिपुर

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer