एमाले पाल्पा-२ को प्रतिबद्धता सार्वजनिक (पूर्णपाठ)

तानसेन। नेकपा (एमाले) पाल्पा क्षेत्र नं. २ को चुनावी प्रतिबद्धता सार्वजनिक भएको छ । पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुरप्रसाद गैरेले रिब्दीकोट गाउँपालिकाको सिरुपातेमा आयोजित एक कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता गैरेले भ्रष्टाचारमुक्त समाज र उत्तरदायी प्रशासन आफ्नो पहिलो प्राथमिकता हुने बताए । उनले ८४ मा हने निर्वाचन विषेश कारणले ८२ मा हुन गएको सन्दर्भमा आगामी कार्यदिशा समेत तय गरेको बताए । नेता गैरेले भने, “सुशासन हाम्रो लागि चुनावी नारा वा वाचा मात्र होइन, यो हाम्रो कार्यशैली हुनेछ ।” गैरेले  थपे, “जनताले सरकारी सेवा लिन सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य गर्दै पारदर्शी र सुदृढ प्रशासनिक संयन्त्र निर्माणमा मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ ।”

प्रतिबद्धतामा पाल्पाको समग्र विकासका लागि ९ वटा विशेष क्षेत्रलाई समेटेर योजना अघि सारिएको छ। प्रतिबद्धता अनुसार स्थानीय पूर्वाधार विकास र आर्थिक शहरीकरणलाई मुख्य आधार बनाउँदै पाल्पाली सभ्यताको जगेर्ना र पर्यटनलाई अर्थतन्त्रको बलियो स्रोत बनाउने उम्मेद्वार गैरेले बताए । यस्तै पाल्पाको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई विश्व बजारमा पु¥याएर पर्यटन अर्थतन्त्रमार्फत समृद्धि हासिल गर्ने लगायतका विषय प्रतिबद्धतामा उल्लेख छ ।

हेर्नुहोस् पूरा प्रतिबद्धता ,

१. स्थानीय पूर्वाधार र आर्थिक–शहरी विकास :सडक, पुल र पूर्वाधार केवल भौतिक संरचना मात्र होइनन् । यिनीहरु जीवनस्तर सुधार र आयआर्जनको मुख्य आधार हुन् । कृषकका अन्न, तरकारी, दुध तथा दुग्धजन्य उत्पादन बजारसम्म पुग्ने, वर्षायाम र आपतकालीन अवस्थामा २४ सै घण्टा सुरक्षित आवागमन सुनिश्चित गर्ने माध्यम समेत हुन् । यस अर्थमा सडक, पुल र पुर्वाधार जीवन र अर्थतन्त्रका आधार हुन् । भइरहेका सडकको स्तरोन्नति र नयाँ सडक निर्माणका कामलाई पार्टीले पहिलो प्राथमिकतामा राखेको छ । आवश्यकताका आधारमा पुलपुलेसामा जोड दिने छ । ग्रामीण बस्तीहरुलाई समेत ग्रामीण–सहरको ढाँचामा विकास गरिने छ । तानसेन सहरलाई मौलिक एवम् सांस्कृतिक सहरको रुपमा विकास गरिने छ । २.पाल्पा सभ्यता र पर्यटन अर्थतन्त्र ःपाल्पालाई आफ्नै मुल्य र मान्यताको रुपमा लिदै पर्यटनको केन्द्रका रुपमा विकास गर्न बाँकी पुर्वाधारको काम सम्पन्न गरी रोजगारीको प्रमुख श्रोतको रुपमा विकास गरिने छ । यहाँ रहेका सांस्कृतिक डबली, पार्क (उद्यान), बाटिका, तालतलैया, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पुरातात्विक धरोहरहरुलाई पर्यटकीय केन्द्रको रुपमा विकास र निर्माण गर्दै आर्थिक केन्द्रको रुपमा विकास गरिने छ । सन् १८१४–१६ मा अंग्रेजलाई जितगढी क्षेत्रमा परास्त गर्न कोकलछाप भगवती टोल नजिकै फलाम उत्खनन् गराई कर्णेल उजिरसिंह थापाले हातहतियार मर्मत र निर्माण गरिएको ठाउँमा उजिरसिंह पार्क निर्माण गर्ने । यसैमार्फत् अर्थतन्त्रमा जोडिने छ ।

३.उद्योग र व्यापारलाई अर्थतन्त्रको मेरुदण्ड बनाइने छ : समृद्धिका लागि रोजगारी, रोजगारीका लागि उद्योग व्यवसायलाई मूलमन्त्र मानी स्वदेशी विदेशी उद्योगीलाई अनुकूल वातावरण सृजना गरिने छ । यसका लागि सबैसँग हातेमालो गरी पार्टी अघि बढ्ने छ । स्वदेशमै रहन सक्ने वातावरण तयार गरिने छ । स्वरोजगारको अवसर सिर्जना गरिने छ । पाल्पा सुहाउँदो उद्योग,व्यवसायलाई प्राथमिकता दिइने छ । आत्मनिर्भर पाल्पाबासीको नारालाई सार्थक तुल्याइने छ ।

४. पानी, ऊर्जा र कृषिमा रूपान्तरण :सिंचाई, विद्युत उत्पादन र कृषिजन्य वस्तुको प्रशोधन गरी नेपाली उत्पादनको निर्यातका लागि यो क्षेत्रको उपयोग गरिने छ । यसका लागि उपलब्ध नदीनाला, खोला, खोल्सा, तालतलैया, इनार, कुवालाई सक्दो प्रयोग गरिने छ । कृषिकर्मलाई बलियो बनाउन सिंचाइमा जोड दिइने छ । आधुनिक तथा प्रविधिमैत्री कृषि र रैथाने बालीमा जोड दिदै अग्र्यानिक कृषिमा विशेष जोड दिइने छ । किसानको हित र उत्पादनमा पार्टीले जोड दिने छ ।

५. शिक्षा, सीप र खेल पर्यटनको केन्द्रका रुपमा पाल्पाः  पाल्पालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न आवश्यक पुर्वाधार तयार हुँदैछन् । त्यसको पूर्णता र नयाँ संरचना विकासको आधार नै महत्वपूर्ण हुन्छ । शिक्षालाई सीपसँग र खेलकुदलाई पर्यटनसँग जोड्दै अघि बढाउनका निम्ति नेकपा एमाले कटिवद्ध रहने छ । पाल्पाको माटो, हावापानी र समय सुहाउँदो शिक्षा, सीप र खेलकुद पर्यटनमा हाम्रो पार्टीले विशेष जोड दिने छ । सबै खालका पर्यटनको सम्भाव्यतालाई ख्याल राखिने छ ।

६.स्वास्थ्य र सामुदायिक कल्याण :– पाल्पालाई स्वास्थ्य सेवा र सामुदायिक कल्याणको केन्द्रका रूपमा विकास गरिनेछ । यसका लागि भएका अस्पताल,स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति र आवश्यकताका आधारमा नयाँ स्वास्थ्य इकाइहरु निर्माण गरिने छन् । आधारभूत वर्गका नागरिकलाई स्वास्थ्य बीमामार्फत गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवाको पूर्ण प्रत्याभूति गरिनेछ । खुल्ला व्यायामशाला र ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरी समुदायमा स्वास्थ्य, शारीरिक र सामाजिक कल्याण सुनिश्चित गरिनेछ । पाल्पा जिल्ला अस्पताललाई पाल्पा जिल्लाकै प्रमुख अस्पतालको रुपमा रुपान्तरण गरिनेछ ।

७. सुरक्षित र रोजगारीमुखी पाल्पा: गाउँ र सहरको विकास भनेको भवन मात्र होइन, सुरक्षित रोजगारी, व्यवस्थित बसोबास र सम्मानजनक जीवन सुनिश्चित गर्न हो । अर्थात् सुरक्षित काम, व्यवस्थित बसोबास हुन्छ र सुनिश्चित भविष्यको ग्यारेन्टी गरिने छ । ग्रामीण क्षेत्रमा कृषि र पर्यटनमार्फत् रोजगारीको ढोका उघारिने छ । सहरलाई थप सुरक्षित राख्ने अभियान थालिने छ । रोजगारमार्फत् सहरको नौलो पहिचान कायम गरिने छ ।

८. सुशासनः मूल एजेन्डा:– सुशासन हाम्रो वाचा मात्र होइन—हाम्रो कार्यशैली हुनेछ । “सार्वजनिक सेवालाई प्रभावकारी र जवाफदेही बनाइनेछ । “न्याय प्रणालीलाई विश्वासिलो र भरपर्दो बनाइनेछ ।” प्रशासनलाई जनताप्रति उत्तरदायी बनाइनेछ । ” नीति निर्माण तथा कार्यान्वयन गर्ने निकायमा प्रभावकारी क्षमता विकास गरिनेछ । ” नियमित जनसुनवाई गरी निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद र प्रगतिप्रतिवेदन सार्वजनिक गरिनेछ । ” संविधानको मर्म अनुसार तीनै तहका सरकारको प्रभावकारिता र सरलीकरण गर्दै नागरिकको शासनमा पहुँच सुनिश्चित गरिनेछ ।” ”न्यायको पक्षघरता र प्रतिवद्धता नै नेकपा एमालेको मूल कर्तव्य हो ।” जनताको जीविका, हक, अधिकार, लोकतन्त्र र सामाजिक न्याय स्थापना गर्दै जनताको जीवनस्तरको रुपान्तरण र समृद्धिका लागि गरिएका संघर्षको गर्भबाट माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको सैद्धान्तिक पृष्ठभूमिका निर्माण भएको पार्टी हो ।  जनताको बहुदलीय जनवादको सैद्धान्तिक जगमा वर्गीय पक्षधरताको मूलाधारका साथ श्रमजीवि, श्रमिक, आम किसान तथा समाजमा रहेका सिमान्तकृत वर्गको पक्षमा दृढतापूर्वक उभिई उनीहरुको जीवनलाई आमूल परिवर्तन गर्दै समाज बदल्ने अभियानमा हाम्रो पार्टी क्रियाशिल छ । यसै सिलसिलामा यस पटकको आम निर्वाचनको पनि सदा जस्तै पाल्पा क्षेत्र २ का मतदाताबाट प्राप्त विश्वासलाई सम्मान गर्दै इमान्दारीपूर्वक यहाँहरुको सेवामा लागिरहने प्रतिवद्धता व्यक्त गर्दछौं ।” पाल्पामा रहेका विभिन्न ताल र त्यहाँको जैविक विविधताको संरक्षण हुने गरी प्राकृतिक धान लगायत अन्य विषयको संरक्षणमा जोड दिई पर्यटन प्रवद्र्धन गरिनेछ ।

९. वन, वातावरण तथा जैविक विविधता संरक्षण: वन, वातावरण तथा जैविक विविधता संरक्षणलाई आर्थिक उत्पादन, सामुदायिक स्वामित्व, पर्यापर्यटन र दिगो जल–स्रोत व्यवस्थापनसँग एकीकृत गर्दै हरित् अर्थतन्त्र निर्माण गरिनेछ । वन र सामुदायिक वनलाई पर्यावरण संरक्षण, उत्पादन, पर्यापर्यटन, आयआर्जन र वनउद्यमसँग आबद्ध गरिनेछ । कृषि वनलाई व्यवसायिक रूपमा सञ्चालन, पर्यटन वन अवधारणाको विकास, वन उद्यमका लागि नीतिगत सहजीकरण र सामुदायिक वास्तविक स्वामित्व र व्यवस्थापनको ग्यारेन्टी गरिनेछ । डढेलो नियन्त्रणका लागि वन क्षेत्रमा अग्निरेखा निर्माण, साथै पैदल यात्रा र पर्यापर्यटनका लागि सुरक्षित र उपयोगी मार्गहरू विकास गरिनेछ । दीर्घकालीन पानीको आपुर्तिलाई बचाई राख्न विभिन्न स्थानहरुमा रिचार्ज पोखरीहरु निर्माण गरिने छ । वन्यजन्तु र मानव द्वन्द्वलाई न्युनीकरण र व्यवस्थापनमा जोड दिइने छ । वन्यजन्तुबाट भएका वा हुन सक्ने क्षतिलाई घटाउने योजना तयार गरिनेछ । नेकपा (एमाले) पाल्पा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का सूर्यध्वजावाहक प्रत्यक्ष उम्मेदवार कमरेड ठाकुरप्रसाद गैरे र समानुपातिकतर्फका उम्मेदवारहरु ओमबहादुर घर्तिमगर, ठानेश्वर बस्याल र रोजीरन खातुनलाई भारी मतका साथ विजयी गराऔं । हाम्रो प्रतिवद्धता पत्रलाई पूरा गर्ने अवसर जुटाऔं ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको