तानसेन। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले आफ्नो कार्यकालमा कानून निर्माण र स्थानीय विकासमा सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् । उनले संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा देखिएको जालझेलबारे गठन गरिएको संसदीय छानबिन विशेष समितिको सदस्यका रूपमा काम गर्दै महत्वपूर्ण योगदान दिएको दावी गरे ।
उनले समितिले पेश गरेको प्रतिवेदनले भविष्यका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे। उममेद्वार आचार्यले सबै सरकारी निकायका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषय सदनमा उठाएको पनि बताए ।
प्रतिनिधि सभाको अर्थ समितिका सदस्य रहँदा आचार्यले विषयगत समितिहरूमा सक्रिय सहभागिता जनाउँदै विधेयकहरूको सैद्धान्तिक छलफलमा स्पष्ट धारणा राख्ने सांसदका रूपमा पहिचान बनाएको दाबी गरे ।
नागरिकसंगको घरदैलोमा उम्मेद्वार आचार्यले नागरिकको हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्नेमा आफू दृढ रहेको बताए । उम्मेदवार आचार्यले विगतमा जनहितमा काम गरेको आधारमा पुनः एक पटक अवसर दिन मतदातासँग आग्रह समेत गरे।





















