पाल्पालाई शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमार्फत समृद्ध बनाउने पाण्डेयको प्रतिबद्धता

तानसेन। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले पाल्पाको विकासका चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । तानसेनमा आयोजित प्रतिबद्धता सार्वजनिक कार्यक्रममा पाण्डेयले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्दै २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

पाण्डेयले तानसेनलाई ऐतिहासिक नबिग्रिने गरी पर्यटकीय आकर्षणको सुन्दर शहर बनाउने, सिद्धबाबादेखि राम्दीघाटसम्म एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने, पाल्पाका पहिचानका रूपमा रहेको मगर संस्कृतिलाई विश्वमा चिनाउन राष्ट्रिय स्तरको ‘मगर संग्रहालय’ र ‘मगर गाउँ’ स्थापना गर्ने, श्रीनगरमा नेपालकै ठूलो बुद्ध मूर्ति स्थापना गर्ने, तानसेनमा ‘नेवाः छेँ’ सहित ’टक्सार लिभिङ म्युजियम’ बनाउने योजना रहेको बताए ।

उम्मेद्वार पाण्डेयले तानसेन बहुप्राविधिक क्याम्पस र दमकडा क्षेत्रलाई आवासीय शैक्षिक हबका रूपमा विकास गर्ने, त्रिभुवन बहुमुखी क्याम्पस तानसेन शैक्षिक अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने योजना अघि सार्ने बताए । यस्तै पाल्पा अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार र विशेषज्ञ सेवासहितको अस्पतालको रूपमा विकास गर्ने देखि पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पताललाई अन्तर्राष्ट्रियस्तरको मेडिकल रिसर्च सेन्टर, अध्ययन, अध्यापन केन्द्रको रूपमा विकास गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।

प्रतिबद्धतामा सुन्तला, अदुवा, खुर्सानी, बेसार, अलैँची, एभोकाडो, ड्रागन फ्रुट, कफीलगायतको छुट्टै पकेट क्षेत्र घोषणा गरी उत्पादित सामग्रीको विविधीकरण गर्न लघु उद्योग र बजारीकरणमार्फत युवा उद्यमशीलताको विकास गर्ने, बाँदर, बँदेल, दुम्सी, चितुवालगायतका वन्यजन्तुबाट हुने कृषिजन्य र मानवीय क्षति रोकथाम गर्न आवश्यक कानुन निर्माण गर्ने र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्दै बाँझो जमिनलाई प्रयोगमा ल्याई व्यावसायिक कृषिमार्फत युवा रोजगारी सृजना गर्ने बगनासकाली, तानसेन हिल र रानीमहललाई समेटेर अन्तर्राष्ट्रियस्तरको साइकलिङ ट्र्याक सञ्चालन गर्ने योजना रहेको पाण्डेयले बताए।

यस्तै बढ्दो बसाइँसराइलाई रोक्नको लागि तानसेनमा पर्यटन र शिक्षाबाट आयआर्जनको विकास गर्ने, तिनाउलाई खानेपानी र जडीबुटी, रैनादेवी छहरा र रिब्दीकोटलाई अक्कर, सुन्तलाजात र मसालाजन्य वस्तुको उत्पादन, बगनासकालीमा मकैको बिउ उत्पादन जोन, सुन्तला कागती कफी लगायतको उत्पादनबाट आयआर्जन र रोजगारीको व्यवस्था गर्ने र सिद्धार्थ राजमार्गको बुटवल–तानसेन–रिडी खण्डमा दुबैतर विभिन्न प्रकारका फूलहरू रोप्ने र विभिन्न ठाउँहरूमा फलफूल निर्माण गरी सौन्दर्यकरण गर्ने योजना रहको नेता पाण्डेयले बताए ।

पूर्व मन्त्री समेत रहेका पाण्डेयले राष्ट्र, राष्ट्रियता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, राजनीतिक स्थिरता, भ्रष्ट्राचारको अन्त्य, सुशासन, सामाजिक न्याय र मुलुकको समृद्धिको पक्षमा निरन्तर लागि पर्ने बताए ।

हेर्नुहाेस् (पूर्णपाठ)

आदरणीय पत्रकार तथा सञ्चारकर्मी साथीहरु !
पाल्पाको माटो, यहाँको विरासत र तपाईंहरूको अटुट विश्वास नै मेरो राजनीतिक यात्राको मुख्य ऊर्जा हो । पाल्पाली जनताले मत दिएर जनप्रतिनिधि भएदेखि सधैँ पाल्पाको हितलाई सर्वोपरी ठानेको छु । पाल्पाको समृद्धि, पाल्पालीको सेवा र पाल्पाको उज्वल भविष्यको मेरो संकल्प पूरा गर्नका लागि आगामी फागुन २१ गतेको निर्वाचनमा उम्मेद्वारी दिएको छु ।
मेरा केहि प्रतिबद्धताहरु
१) तानसेनलाई ऐतिहासिक शहरको रुपमा विकास गरी पुराना वा नयाँ निर्माण गरिने घरहरूलाई मौलिक शैलीमा (तेलिया इट्टा÷भक्तपुरे इट्टा) लगायतका सामग्रीको प्रयोग गरी पर्यटकीय आकर्षणको सुन्दर शहर बनाउने ।
२) सिद्धबाबा–तानसेन–भैरवस्थान–ऋषिकेश–रानीमहल र राम्दीलाई जोडेर एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने । तानसेनलाई हिल स्टेसनका रुपमा विकास गर्ने ।
३) तानसेन बन्दिपोखरादेखि प्रभास र दमकडा क्षेत्रलाई आवासीय शैक्षिक हवका रुपमा विकास गर्ने ।
४) पाल्पा मगर समुदायको बाहुल्यता भएको जिल्ला भएकोले मगर संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय स्तरको ‘मगर सङग्रहालय’ कायम गर्ने र संसारका पर्यटक आकर्षण गर्ने राष्ट्रिय स्तरको ‘मगर गाउँ’ स्थापना गर्ने ।
५) श्रीनगरको मौलिकता नबिग्रने गरी बुद्ध गार्डेनको रुपमा विकास गर्ने र सो स्थानमा नेपालकै ठूलो बुद्ध मूर्ति स्थापना गर्ने । तानसेन काठमाडौँपछिको बुद्ध धर्मावलम्बीको बसोबास भएको क्षेत्र भएकोले यहाँका आनन्द विहार, महाचैत्य विहार, होलाङ्दी बुद्धविहार, महाबोधी विहार, धर्मचक्र महाविहार, शान्तीस्तुपा बुद्ध विहार, पारिलेकबन श्रीनगर र पालिकास्तरमा रहेका गुम्बाहरु लगायतको जीर्णोद्धार तथा निर्माण गर्ने र लुम्बिनी आएका पर्यटकहरुलाई पाल्पा ल्याउने गरी आकर्षक स्थल बनाउने । श्रीनगर वरपर वा उपयुक्त स्थानमा भगवान गौतम बुद्धको चार धाम तीर्थस्थल निर्माण गर्ने ।
६) माडीमा माण्डव्य आश्रम तथा बुडुवा लगाएत उपयुक्त स्थानमा माण्डब्य ताल निर्माण साथै रुरुक्षेत्रमा ऋषिकेश मोक्षधाम सरोवर निर्माण गर्ने ।
७) पश्चिम नेपालकै शैक्षिक धरोहरको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनलाई त्तब्ब् को मापदण्ड पूरा गरी शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने । अन्य शिक्षण संस्थाहरुमा व्यवसायीक तथा प्रविधियुक्त शिक्षाको लागि पहल गर्ने ।
८) पाल्पा अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार र विशेषज्ञ सेवासहितको अस्पतालको रुपमा विकास गर्ने
९) युनाइटेड मिसन अस्पताललाई अन्तराष्ट्रियस्तरको मेडिकल रिसर्च सेन्टर, अध्ययन, अध्यापन केन्द्रको रुपमा विकास गर्ने ।
१०) नेपाल–अङ्ग्रेज युद्धको विजयगाथा झल्काउने ‘एङ्गलो–नेपाल वार गार्डेन’ र तानसेन–नुवाकोट–जितगढी ‘युनिफिकेसन ट्रेल’ (एकीकरण मार्ग) निर्माण गर्न एकीकृत विकास गुरुयोजना तयार गर्ने ।
११) ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरको पुननिर्माण र सौन्दर्यकरण दुई वर्षभित्र पूरा गर्ने ।
१२) बल्डेङ्गढीलाई राष्ट्रिय पार्कको रुपमा विकास गर्दै गढीको संरक्षण र प्रर्बद्धन गर्ने ।
१३) सिद्धार्थ राजमार्गको बुटवल–तानसेन–राम्दी खण्डलाई ३ वर्षभित्र स्तरोन्नति गर्नेे । साथै, हार्थोक–छहरा मोटरबाटो २ वर्षभित्र कालोपत्रे गर्ने ।
१४) दोभान–बोटेगाउँ–मरेक–काशीभन्ज्याङ– ढुस्टुङ– बतासे –सातमुरे –गुल्मी सडक निर्माण गर्ने
१५) उद्योगमन्त्री र सांसद रहँदा सुरु गरेका भूतखोला–कचल, जगात–गोठादी, र माथागढी–देवदह, माडीफाँट रिङरोडजस्ता दर्जनौँ सडकहरूलाई पूर्णता दिँदै ग्रामीण सहडकहरुमा बाह्रै महिना गाडी चल्ने व्यवस्था गर्ने ।
१६) तानसेनमा कम्तिमा ३५०० सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको स्मार्ट सभाहल निर्माण गर्दै जुनसुकै मौषममा पनि कार्यक्रम गर्न सकिने “इभेन्ट टुरिज्म हब” को रुपमा विकास गर्ने ।
१७) तानसेनमा नेवा छें ( नेवारी घर) निर्माण सहित ‘टक्सार लिभिङ म्युजियम’ बनाउने ।
१८) पाँच वर्ष भित्रमा पाल्पा क्षेत्र नं. २ मा आधारभूत विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत) लगायतका सेवाको पहुँच सुुनिश्चित गर्ने ।
१९) कृषि उत्पादनको आधुनिकीरण र व्यवसायीकरण गरी किसानको आयवृद्धि र स्वरोजगारी सृजना गर्ने । सुन्तला, अकबरे खुर्सानी, अदुवा, बेसार, अलौची, एभोकाडो, ड्रागन फ्रुट, कफीलगायतको छुट्टाछुट्टै पकेट क्षेत्र घोषणा गरी उत्पादित सामग्रीको विविधिकरण (लघु उद्यम) र बजारीकणमार्फत युवा उद्यमशीलताको विकास गर्ने ।
२०) बाँदर, बदेल, दुम्सी, चितुवालगायतका वन्यजन्तुबाट हुने कृषिजन्य र मानवीय क्षति रोकथाम गर्न आवश्यक कानुन निर्माण गर्ने र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने । बाँझो जमिनलाई प्रयोगमा ल्याई व्यवसायीक कृषिमार्फत युवा रोजगारी सिर्जना गर्ने ।
२१) बगनासकाली, तानसेन हिल र रानीमहललाई समेटेर अन्तर्राष्ट्रियस्तरको साइकलिङ्ग ट्र्याक सञ्चालन गर्ने ।
२२) बढ्दो बसाइसराईलाई रोक्नको लागि तानसेनमा पर्यटन र शिक्षाबाट आयआर्जनको बिकास गर्ने, तिनाउलाई खानीजन्य र जडिबुटी, रैनादेवी छहरा र रिब्दीकोटलाई अकबरे, सुन्तलाजात र मसलाजन्य बस्तुको उत्पादन, बगनासकालीमा मकैको बिउ उत्पादन जोन, सुन्तला कागती कफी लगाएतको उत्पादनबाट आयआर्जन र रोजगारीको ब्यबस्था गर्ने ।
२३) सिद्धार्थ राजमार्गको बुटवल तानसेन राम्दी खण्डमा दुवैतिर विविध प्रकारका फूलहरु रोप्ने र विभिन्न ठाउँहरुमा फल्चाहरु निर्माण गरी सौन्दर्यकरण गर्ने ।
२४) पाल्पाका अमूर्त सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्ने ।
२५) राष्ट्र, राष्ट्रियता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सम्र्वद्धन, राजनीतिक स्थिरताको लागि शषक्त भूमिका निर्वाह गर्नेछु र जेनजी आन्दोलनको भावना अनुसार भ्रष्ट्राचार नियन्त्रण, सुशासन, सामाजिक न्याय र मुलुकको समृद्धिको पक्षमा निरन्तर लागि पर्नेछु । 

 

 

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको