तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका –६ का ४५ वर्षीय ओम बहादुर रास्कोटी रहेकाे प्रहरीले जनाएकाे छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुल्सिपुर, बुटवलको २०७७ फागुन १२ गतेको फैसलाअनुसार २२ दिन कैद र १८ लाख ८४ हजार जरिवाना ठहर भएपछि फरार रहेका रास्काेटीलाई पक्राउ गरेकाे हाे।
प्रहरीको निरन्तर निगरानी र विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिई गएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका –२६ मित्रनगरस्थित आफ्नै कोठामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।
बैंकिङ सम्बन्धी कसूर मुद्दामा रास्कोटीले लगत नम्बर ११७६ मा १५ (पन्ध्र) दिन कैद र जरिवाना तेह्र लाख चौरासी हजार र लगत नम्बर ११७७ मा ७ (सात) दिन कैद र जरिवाना पाँच लाख गरी २२ दिन कैद र जरिवाना अठार लाख चौरासी हजार भुक्तान गर्न बाँकी रहेको छ ।
उनलाई लागेको उक्त लगत असुल उपरको लागि जिल्ला अदालत पाल्पामा पेश गरिएको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिए । प्रहरीले केही दिन अघि मात्र बैंकिङ कसुर मुद्दामै फरार रहेका बगनासकाली –७ का हेमन्त गैरेलाई पनि पक्राउ गरेको थियो ।

