प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

पाल्पा । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातितर्फको बन्द सूचिको उम्मेदवारी फिर्ता लिन आज अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले थप गरेको समय अनुसार बन्दसूची बुझाएका दलहरुले आजसम्म त्रुटी सच्चाएर बन्दसूची बुझाउनुपर्ने छ ।

आगामी निर्वाचनका लागि ६४ दलले आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाएका थिए । पुस १३ र १४ गते बुझाइएका सूचीको रुजु पुस २० सम्म चल्यो । रुजुका क्रममा आयोगले सबै दलका सूचीमा त्रुटि भेटिएको बताएको छ । पुस २० गतेदेखि २७ सम्म आयोगले दललाई सूचना दिएर त्रुटि सच्याउन लगाएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार पुस २८ गते उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय छ । पुस २९ गते उम्मेदवारले फिर्ता लिएकोबारे दललाई आयोगले सूचित गर्ने तालिका छ । पुस ३० देखि माघ २ गतेसम्म उम्मेदवारी फिर्ता भएको समावेशी समूहमा दलहरूले नयाँ नाम पेस गर्नुपर्नेछ ।

माघ २० गते समानुपातिक बन्दसूचीको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार समानुपातिकतर्फ ६४ दलले भाग लिएका छन् ।

दलहरुले आ–आफ्नो चुनाव चिह्नमा भाग लिने दल ५४ वटा छन् । एकभन्दा बढी दलले एउटै चिह्न लिएर चुनाव लिने दल १० वटा छन्, जसले चारवटा चिह्न प्रयोग गर्नेछन् । आयोगले दर्ता भएका १३७ दलमध्ये समानुपातिकमा भाग लिन योग्य १०० दललाई स्वीकृति दिएको थियो ।

संविधानअनुसार प्रतिनिधिसभाका कुल २७५ सिटमध्ये १६५ सिट प्रत्यक्षतर्फ र ११० सिट समानुपातिकतर्फ छन् । समानुपातिकतर्फ ११० सिटका लागि दलहरूले आयोगमा करिब ३१ गुणा बढी उम्मेदवार दर्ता गराएका छन् ।

आयोगको तथ्यांकअनुसार समानुपातिक बन्दसूचीमा जम्मा ३ हजार ४२४ जनाको नाम परेको छ । बन्दसूची रुजु र अन्तिम रूप दिने कार्यमा ४० भन्दा बढी कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ ।

Notice image

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको