३१ औं जनयुद्ध दिवसः पाल्पामा शहीद परिवारलाई सम्मान

तानसेन। ३१ औं जनयुद्ध दिवसको अवसरमा पाल्पामा शहीद परिवारलाई सम्मान गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी तानसेन नगर समितिको आयोजनामा जनयुद्धमा ज्यानको बलिदान दिने शहीदका परिवारलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

शहीदका आफन्तलाई सम्मान गर्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता सोम प्रसाद पाण्डेयले मुलुकको समृद्धि अहिलेकोे मुख्य अभिभारा भएको बताए। उनले नेपाली जनताको चाहना र भावना पुरा गर्ने हाम्रो एउटा मात्र अर्जुनदृष्टि आर्थिक समृद्धि रहेको बताए ।

” हामी जनताको सेवा गर्न तयार रहेकोले यसपाली भारी मतका साथ विजयी हुनेछौं । जनताले बलिदान दिएर ल्याएको व्यवस्थामा अब नागरिकको अवस्था परिवर्तन गर्नुपर्ने छ । त्यो कार्यका लागि अब नेपाली कम्युनिष्ट पार्टीले विजयी हासिल गर्नुपर्छ ।”-उनले भने ।

नेकपाबाट समानुपातितर्फकी उम्मेदवार पार्वती विश्वकर्मा (सामना)ले सुशासन र समृद्धिका लागि नेकपाको विकल्प नभएको बताइन् । दश वर्षे जनयुद्धदेखि जेनजी आन्दोलनमा ज्यान गुमाउने शहीदप्रति सम्मान व्यक्त गर्नुपर्ने उनले बताइन् ।

नेकपाका केन्द्रीय सदस्य नेत्र प्रसाद पाण्डेयले जनयुद्धका बाकी कामहरु पूरा गर्नका लागि देशभर नेपाली कम्युनिष्ट पार्टी पहिलो बनाउने गरी पार्टी कार्यकर्ताहरु मेहनत गर्न आवश्यक रहेको बताए।

नेकपा पाल्पाका संयोजक अशोक कुमार शाहीले मार्सवादी चिन्तन र अहिलेको क्रान्तीसम्म आउँदा कम्युनिष्टहरु एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा वाईसिएलका केन्द्रीय सदस्य हरीस गिरीले लोकतन्त्र र संघीय व्यवस्था स्थापित गर्ने महान् जनयुद्धका शहीदले गरेको योेगदानलाई साहाकार बनाउन अबको दिनमा नेपाली कम्युनिष्ट पार्टीले कार्य गर्नुपर्ने बताए ।

इजराइलका कम्युनिष्ट पार्टीका सदस्य इदान लइकेलले नेपालमा जनयुद्ध सुरु गरेर ल्याएको व्यवस्था विश्वका कम्युनिष्टहरुका लागि उदाहरणीय रहेको बताए । उनले अहिले विश्वभरका कम्युनिष्टहरु एकभएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याउँदै नेपालमा जनयुद्धबाट ल्याएको व्यवस्थाको प्रशंसा गरे ।

सम्मान कार्यक्रम नेकपा तानसेन नगरसमितिका उपाध्यक्ष युवराज पन्तको स्वागत, नगर सचिव नवराज बस्याल(बादल)को संचालन र नगर समिति अध्यक्ष प्रतिक्षा गाहा सिंजालीको अध्यक्षतामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer