होटल पौवामा तीन दिने स्वाद उत्सव सुरु

तानसेन। होटल पौवा प्रा.लि.ले तीन दिने स्वाद उत्सव कार्यक्रम सुरु गरेको छ । स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा देशभरका शाखाहरुमा एकैसाथ स्वाद उत्सव सुरु भएको हो।

“जहाँबाट आतिथ्यको सुरुवात हुन्छ“ भन्ने मूल नाराका साथ नेपाली भाषा, संस्कृति र रैथाने खानाको संरक्षणका लागि बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म स्वाद उत्सव सञ्चालन हुने पौवाका पाल्पा शाखा प्रबन्धक यदुप्रसाद भट्टराईले जानकारी दिए।

मौकिल खानाको प्रर्बधन गर्दै विशेष अर्गानीक स्वादको अनुभव दिलाउदैं दश वर्षसम्म सेवा दिएको उपलक्ष्यमा नेपाली रैथाने स्वादका ६ प्रकारका परिकारका स्वाद ग्राहकलाई दिने बताइएको छ ।

पाल्पा शाखाकी लेखापाल सन्जु कार्कीका अनुसार स्वाद उत्सवमा सहभागी ग्राहकले प्रत्येक दिन एउटा भेज र एउटा ननभेज गरी तीन दिनसम्म फरक परक परिकारको स्वाद चाख्न पाउनेछन् । यस्तो खालको कार्यक्रमबाट स्थानीय पर्यटन र मौलिक खानाको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको पौवा परिवारले जनाएको छ ।

रुपन्देहीको सालझण्डीस्थित सात कोठाको सानो घरबाट यात्रा सुरु गरेको होटल पौवाको हाल देशभर झण्डै १००० कर्मचारी र २५० भन्दा बढी लगानीकर्ता सहभागी रहेका छन् ।

वार्षिकोत्सवको विशेष अवसरमा कम्पनीले चैत्र २८ गते भैरहवा शाखामा ‘बितायौँ बालापन’ अवधारणामा लगानी सम्मेलन समेत आयोजना गर्दैछ । पाल्पा शाखाले वार्षिकोत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेकाे छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer