पाल्पा । देशका विभिन्न भागमा आज मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज विशेषगरी कोशी प्रदेश लगायत पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
विभागले बाँकी भू–भागका थोरै स्थानहरूमा पनि आंशिक बदली भई हल्का वर्षा हुन सक्ने जनाएको छ। आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ। कोशी प्रदेशसँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार बदली र वर्षाका कारण तापक्रममा केही गिरावट आउन सक्नेछ। साथै हावाहुरी, चट्याङ र असिनाका कारण जनजीवन, कृषि तथा यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

