तानसेन। पाल्पाको धार्मिक पर्यटकीय स्थल जलेश्वरधाम संचालित शिवपुराण महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ । रिब्दीकोट गउँपालिका वडा नं.–५, स्थित जलेश्वरधाममा गत माघ २२ देखि फागुन ३ गतेसम्म सञ्चालन भएको महायज्ञमा एक करोड ४० लाख आम्दानी भएको मूल आयोजक समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरेको हो।
आर्थिक उपसमितिका संयोजक प्रमुख कुँवरका अनुसार विभिन्न व्यक्ति तथा संघसंस्थाले महायज्ञको अवधिमा दिएको प्रदान गरेको दानबाट सो रकम संकलन भएको हो। केही रकम उठ्न बाकी छ । अधिकाशं रकम उठिसक्यो कुवंरले भने, हामीले पवित्र भावनाले गरेको महायज्ञबाट धेरै भक्तजनको सहभगिता रह्यो र रकम पनि अधिकांश उठेको छ ।
महायज्ञ संचालन तथा व्यवस्थापनसहित ८५ लाख खर्च भएको छ । खर्च सार्वजनिक गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष एंव महायज्ञका संरक्षक नारायणबहादुर कार्कीले गाउँपालिकाले जलेश्वर धामलाई वैकुण्ठधाम बनाउने सपना देखेको र त्यो सपना महायज्ञ सफलतापूर्वक सम्पन्न भएपछि पूरा भएको बताए ।
जलेश्वर धाममा धर्मशाला बनाउने, बाँस बस्न मिल्ने कटेज बनाउने, आयुर्वेद र गुरुकुल शिक्षा संचालन गर्ने, नियमित पूजाको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष कार्कीले उल्लेख गरे । सो बखत गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसीले जलेश्वर धामलाई पर्यटकीय र धार्मिक स्थल बनाउन सबैको सहयोग रहेको बताए।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष वेणीमाधव आचार्यले महायज्ञमा सकेको दान दिएर यस क्षेत्रको धार्मिक विकासमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

