नकारात्मक दिशामा भड्किएको समाजलाई सकारात्मकतातिर फर्काउनु अहिलेको मुख्य आवश्यकता होः मुख्यमन्त्री आचार्य

तानसेन।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नकारात्मक हिसाबले अघि बढेको समाजलाई सकारात्मकतातिर ल्याउनु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । उनले सामाजिक संजालको नाममा फैलिएको विकृतिले समाजलाई नकारात्मकतामा धकेल्दै लागेको दावी गरे ।

शुक्रबार तानसेनमा सामाजिक अभियान्ता डा. राम बहादुर राउतद्धारा लिखित जीवनशैली नामक पुस्तक विमोचन गर्दै मुख्यमन्त्री आचार्यले हरेक कुरामा समाज अहिले नेगेटिभ भएको र त्यसको सुधारका लागि सबै सचेत नागरिकले पहल गर्नुपर्ने बताए । उनले अहिले सामाजिक सञ्जालको नाममा केही मासिनहरुले अराजकता फैलाएको बताउँदै त्यसले समाजलाई गलत दिशामा अघि बढाइरहेको बताए ।

उनले भने, -“अहिले सकारात्मक सोचतिर हामी छैनौं, हरेक विषयवस्तुलाई नकारात्क ढैगले विश्लेषण गर्ने जस्ले नकारात्मक ढंगले विश्लेषण गरेको छ तेही कुराको पछाडिपछाडि दौडिने अहिले समाज निर्माण हुँदैछ । अहिले कला साहित्य र पत्रकारिता तथा समाजसेवीहरुले मुलुक नकारात्मक दिशामा भड्किएको अवस्थालाई सकारात्मकतातिर फर्काउन अहिलेको मुख्य आवश्यकता हो ।”

मुख्यमन्त्री आचार्यले पुस्तक प्रकाशनप्रति खुसी व्यक्त गर्दै साहित्य, विचार र दर्शनका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन र रूपान्तरण सम्भव हुने बताए । उनले पुस्तकले जीवनको अर्थ र सङ्घर्ष बुझ्न तथा दैनिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन पाठकलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

प्रगतिशील लेखक सङ्घ नेपाल, पाल्पाको आयोजनामा विमोचित पुस्तकमा जीवनको अर्थ, अस्तित्व, सङ्घर्ष, सोच, व्यवहार र दृष्टिकोणलाई समेटिएको छ । सकारात्मक सोचको विकास गर्दै व्यक्तिको जीवनशैलीमा सुधार ल्याउन तथा समाजमा सकारात्मक परिवर्तनको वातावरण निर्माण गर्न पुस्तक उपयोगी हुने अपेक्षा गरिएको लेखक डा. राउतले बताए ।

पुस्तकले पाठकलाई आफ्नो जीवनशैली, व्यवहार र दृष्टिकोणबारे पुनःचिन्तन गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । सकारात्मक सोचलाई व्यवहारमा उतार्दै व्यक्तिगत जीवनदेखि सामाजिक तहसम्म सकारात्मक परिवर्तन ल्याउन पुस्तकले मार्गदर्शन गर्ने विश्वास लिइएको छ ।

‘सकारात्मक सोचले जीवनलाई उज्यालो बनाउँछ, सन्तुष्ट मनले समाधान पाउँछ र सकारात्मक जीवनशैलीले समाजलाई समृद्ध बनाउँछ’ भन्ने सन्देश पुस्तकले दिएको छ । असल जीवनशैलीको अभ्यास, सकारात्मक सोचको विकास र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने उद्देश्य पुस्तकले राखेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको