पाल्पा। गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाको अवस्था, क्षति तथा आवश्यक राहत र पुनर्स्थापनाका विषयमा विपद् प्रतिकार्य कमाण्ड पोष्टका सदस्यहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरूसँग अनलाइन माध्यमबाट छलफल गरेका छन्।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको छलफलमा प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बाढीबाट उत्पन्न अवस्थाबारे जानकारी गराउँदै तत्काल आवश्यक राहत, उद्धार तथा पुनर्स्थापनाका आवश्यकताबारे अवगत गराएका थिए।
यसअघि बसेको विपद् परिचालन टोली (मोबिलाइजेसन टिम) को बैठकमा बाढीका कारण सडक, पुल, विद्युत् पूर्वाधारलगायतका क्षेत्रमा भएको क्षतिको विवरणमाथि छलफल गरिएको थियो। बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउने, अवरुद्ध सडक तथा पुलको अवस्था सम्बोधन गर्ने र टुटेका सञ्चार तथा यातायात सम्पर्क पुनःस्थापना गर्ने विषयलाई प्राथमिकतामा राखिएको राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।
बाढीबाट प्रभावित जिल्लाको वास्तविक अवस्था र आवश्यकताका आधारमा राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको बताइएकाे छ ।






