गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–१ हर्पाकोटमा दोस्रो सहारा कप–२०८३ आयोजना हुने भएको छ । सहारा युवा क्लबको आयोजनामा आगामी कार्तिक ५, ६ र ७ गते खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु. ३० हजार, द्वितीयले रु. १७ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीका लागि दर्ता शुल्क रु. २ हजार तोकिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने क्लबका अध्यक्ष प्रदीप जिसीले बताए ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, अनुशासित खेलाडी तथा उत्कृष्ट डिफेन्डरलाई समेत पुरस्कार प्रदान गरिनेछ । टोली दर्ता कार्तिक ४ गते बिहान १० बजेसम्म गर्न सकिने क्लबले जनाएको छ। प्रतियोगिता हिमालय माध्यमिक विद्यालयको प्राङ्गण, हर्पुकोटमा सञ्चालन हुनेछ ।
सहारा युवा क्लबले खेलकुदको विकास, युवाको एकता र आपसी भाइचारा बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।






