तानसेन । युवा तथा त्रिवि इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति इन्जिनियर सागर बस्याल पाल्पा क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–८, बराङ्दी घर भएका सिभिल इन्जिनियर बस्याल नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पाल्पा क्षेत्र नं. २ बाट ३५ वर्षमुनिको युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् ।
बस्यालले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । कोशी प्रदेशको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (पूर्वाञ्चल क्याम्पस) मा अध्ययनरत रहँदा उनी २०७९ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्ववियु सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि २०८१ सालमा नेविसंघबाटै स्ववियु सभापतिमा निर्वाचित भएका थिए । उनले विद्यार्थी नेतृत्वमा आफ्नो उपस्थिति स्थापित गर्दै आएका छन् ।
इन्जिनियरिङ अध्ययनसँगै विद्यार्थी हकहित र क्याम्पस सुधारका विभिन्न विषयमा सक्रिय रहँदै आएका छन् । बस्यालको पछिल्लो राजनीतिक उपलब्धिलाई पाल्पाका युवाको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।
विशेषगरी ३५ वर्षमुनिको युवा खुलातर्फ सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुले पाल्पा जिल्लाले युवा पुस्तालाई नेतृत्वमा अघि बढाउन दिएको अवसरका रूपमा चर्चा भएको छ ।
बस्यालको चयनसँगै बगनासकालीबाट इन्जिनियरिङ शिक्षा हासिल गर्दै विद्यार्थी नेतृत्वमा स्थापित भएको युवा पुस्ता अब पार्टीको मूल राजनीतिक संरचनामा समेत प्रतिनिधित्व गर्ने अवस्थामा पुगेको देखिएको छ ।






