लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

तानसेन । तानसेनमा पहिलो पटक हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ । कथा मण्डला काठमाडौं र सञ्चार मञ्च पाल्पाको आयोजनामा असोज २२ गते (बिहीबार) देखि २४ गते (शनिबार)सम्म महोत्सव हुन लागेको महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

महोत्सवमा २४ वटा चलचित्र प्रर्दशन गरिने महोत्सवका संयोजक पाण्डव खत्रीले बताए । सन्तोष चलचित्र मन्दिर तानसेनमा संचालन हुने महोत्सवमा लुम्बिनी प्रदेशको कला, संस्कृति, इतिहास र पर्यटनलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्य रहेको संयोजक खत्रीले बताए ।

महोत्सवमा नेपालसहित विभिन्न देशका चलचित्र महोत्सवमा समावेश गरिएको छ, जसमा नेपाली फिचर तथा लघु कथानक चलचित्र र वृत्तचित्रका साथै अन्तर्राष्ट्रिय फिचर तथा लघु चलचित्र प्रदर्शन हुनेछन्। महोत्सवमा सामाजिक महत्व, मौलिक कथा, सांस्कृतिक पक्ष र कलात्मक गुणस्तरलाई प्राथमिकता दिइएको जनाइएको छ ।

चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता र कलाकारसँग दर्शकको प्रत्यक्ष संवादसमेत हुनेछ। कला, संस्कृति, पर्यटन र ग्रामीण अर्थतन्त्रसंग जोडेर सिनेमा निर्माण, तथा स्थानीय, प्रदेश र संघीय सरकारले यस क्षेत्रमा खेल्नुपर्ने भूमिकाबारे खुला छलफल समेत गरिने सञ्चार मञ्च पाल्पाका अध्यक्ष माधव प्रसाद अर्यालले जानकारी दिए ।

छलफलमा विज्ञ, नीतिनिर्माता, स्थानीय तहका प्रतिनिधि र चलचित्रकर्मी सहभागी हुने अर्यालले बताए । महोत्सवका लागि करिब २४ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

आयोजकले स्वदेशी तथा विदेशी गरी ५ हजारभन्दा बढी दर्शक, चलचित्रप्रेमी तथा पर्यटकको सहभागिता अपेक्षा गरेको छ। महोत्सवलाई तानसेन नगरपालिका र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेका छन्।

पाल्पाको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक पक्षलाई चलचित्र छायांकनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने दीर्घकालीन लक्ष्यसमेत महोत्सवको रहेको आयोजक संस्थाले जनाएका छन् ।

महोत्सवमा निःशुल्क प्रवेश र स्थानीय मौलिक परिकार (मगरी, नेवारी) को स्वाद चाख्नका लागि पनि आयोजकले व्यवस्थापन मिलाएको जनाएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको