पाल्पा । पाल्पाको प्रसिद्ध पर्यटकीय स्थल रानीमहल नजिकै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक गम्भीर घाइते भएका छन्। दाङ जिल्लाको घोराही नगरपालिका वडा नं. १७ गुलरीया घर भई साथीहरूसँग पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ७ रानीघाटमा घुम्न आएका २५ वर्षीय नवराज खड्का नदीमा पौडी खेल्ने क्रममा दुर्घटनामा परेका हुन्।
शनिबार साथीहरूसँगै नदीमा पसेका खड्का पौडी खेल्ने क्रममा अचानक घाइते भई पानीमा डुबेका थिए। उनी नदीमा डुबेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रानीमहलबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीको सक्रियतामा निज घाइते युवकको नदीबाट तत्काल जीवितै उद्धार गरिएको छ। उद्धार पश्चात् उनलाई थप उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल ल्याइएकाे प्रहरीले जनाएको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकाे छ।



