पाल्पा अस्पतालमा खोप अभावले रेबिज विरुद्धकाे सेवा बन्द !
पाल्पा । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको पाल्पा अस्पतालमा रेबिज विरुद्धको खोप (Anti-Rabies Vaccine – ARV) अभाव भएपछि सेवा पूर्ण रूपमा बन्द भएको छ। विगत लामो समयदेखि प्रदेशस्तरबाट खोप आपूर्ति नहुँदा अस्पतालले सेवा स्थगित गर्नुपरेको हो।
​अस्पताल प्रशासनले एक सूचना जारी गर्दै लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, रुपन्देहीबाट विगत तीन महिनादेखि उक्त खोप प्राप्त हुन नसकेको जनाएको छ।
​अस्पतालको आफ्नै खर्चले धानेको सेवा पनि सकियो ​प्रदेशबाट आपूर्ति ठप्प भएपछि बिरामीको चाप र संवेदनशीलतालाई मध्यनजर गर्दै पाल्पा अस्पताल विकास समितिले आन्तरिक स्रोतबाट करिब १ लाख रुपैयाँ बराबरको रेबिज खोप खरिद गरी निःशुल्क रूपमा सेवा दिँदै आएको थियो। तर, अस्पतालले आफैँ किनेको उक्त आकस्मिक खोपको मौज्दात समेत सकिएपछि जेठ २६ गतेदेखि सेवा पूर्ण रूपमा उपलब्ध गराउन नसकिएको अस्पताल प्रशासनले स्वीकार गरेको छ।
​अस्पतालका अनुसार अब रुपन्देहीस्थित प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट पुनः खोप प्राप्त नभएसम्मका लागि यो सेवा स्थगित रहनेछ। खोप प्राप्त हुनासाथ अर्को सूचना जारी गरेर सेवालाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।
​अस्पताल प्रशासनले खोप अभावका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको जनाएको छ।
गर्मी र अन्य समयमा कुकुर तथा अन्य जनावरको टोकाइबाट जोगिनुपर्ने अवस्थामा सरकारी अस्पतालमै महत्त्वपूर्ण खोप अभाव हुँदा स्थानीय सर्वसाधारण भने मर्कामा परेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको