महिलाका लागि १० दिने मादल बजाउने तालिम सम्पन्न

तानसेन। ‘सीप सिकौंःस्वरोजगार बनौं’ भन्ने नाराका साथ सञ्चालित मादन बनाउने तालिम सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. ७ पालुङ मैनादीको आयोजनामा महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित १० दिने वाद्यवादन (मादल बजाउने) तालिम सम्पन्न भएको हो ।

तालिमको समापन समारोहलाई सम्बोध गर्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले महिला उद्यमशीलता विकासमा तालिमले टेवा पुग्ने बताए । अध्यक्ष कार्कीले गाउँघरमा महिलाको जनसंख्या धेरै रहेको र अहिले हुने सभा समारोह, र विभिन्न धार्मिक र सास्कतिक कार्यमा मादल बजाउन महिला सक्षम गराउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्ता मौलिक कला सस्कृतिको जर्गेणा गर्नका लागि गाउँपालिकाले र वडाबाट पहल गरिएको अध्यक्ष कार्कीले बताए ।

समापन  कार्यक्रममा गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य सुनिल बश्याल, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, वडा नं. ७ का जनप्रतिनिधिहरू, शिक्षा शाखा स्रोत विज्ञ गोपाल के.सी. र कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक जीवन कुवँर लगाउतले तालिमलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे ।

मादल बजाउने तालिममा मुख्य प्रशिक्षकका रुपमा दिनेश जि.सी.ले सहजीकरण गरेका थिए । यस्तै सहायक प्रशिक्षकका रुपमा विकास क्षेत्रीले तालिम दिएका थिए । तालिममा १७ जना महिला र ८ जना विद्यार्थी गरी कुल २५ जनाको सहभागिता रहेको थियो। तालिम समापनका अवसरमा सहभागी महिला तथा विद्यार्थीहरूलाई प्रमाण पत्र वितरण गरी सम्मान गरिएको थियो।

स्थानीय स्तरमा महिला र विद्यार्थीहरूलाई सीपयुक्त बनाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष दान बहादुर कुवंरले बताए ।

सम्बन्धित खवर