नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन

काठमाडाैं । निर्माण थालेको ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको लगायतको उपस्थितिमा सोमबार सुरुङमार्ग उद्घाटन गरिएको हो ।

उद्घाटनपछि पहिलो लटमा आपत्‌कालीन सवारीसाधनलाई सुरुङ खुला गरिनेछ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागि मात्रै अनुमति दिइनेछ ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क पनि तोकिसकिएको छ । पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा निषेध गरिएको छ । सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ । अहिलेलाई एक, दुई र पाँच हजार नगदको एन–ट्याग लिने व्यवस्था गरिएको छ ।

युसिन–एआरटी जेभीले पाँच वर्ष सञ्चालन तथा व्यवस्थापन र एक वर्षसम्म भने जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले मर्मत सम्भार गर्ने सम्झौता छ । जापानको करिब रु २१.५ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको  ६ अर्ब लगानीमा सुरुङमार्ग निर्माण भएको हो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको