तानसेन । पाल्पाको ऐतिहासिक एवं पर्यटकीय सहर तानसेनमा रहेका बहुमूल्य ऐतिहासिक तथा पुरातात्त्विक कलाकृतिहरू संरक्षणको अभावमा ओझेलमा पर्न थालेका छन्। तानसेनको ऐतिहासिक पहिचान बोकेको एक प्रख्यात कलात्मक काष्ठ झ्याल (झ्यालहरू) समयमै मर्मत-सम्भार नहुँदा दिनप्रतिदिन जीर्ण बन्दै गएका हुन्।
तानसेनकाे शित्तलपार्टी र अन्य स्थानमा रहेका सम्पदा संरक्षणका लागि कुनै निकायले ध्यान नदिदाँ जीर्ण र भत्किने अवस्थामा पुगेका हुन् ।
वास्तुकला र शैलीका हिसाबले अनुपम मानिने उक्त ऐतिहासिक झ्यालको काठ कुहिने, बुट्टाहरू उप्किने र संरचना नै भत्किने जोखिम बढेको छ। पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र मानिने यस्ता धरोहरहरूको दुरावस्थाले स्थानीय बासिन्दा र सम्पदाप्रेमीहरू चिन्तित बनेका छन्।
नेवारी वास्तुकला र प्राचीन शिल्पकलाको जीवन्त नमुना मानिने यस क्षेत्रका ऐतिहासिक भवन र झ्यालहरूले तानसेनको ऐतिहासिक साख जोगाएका छन्। तर, सरोकारवाला निकायको उदासीनता र स्थानीय स्तरमा संरक्षणको प्रभावकारी पहल हुन नसक्दा यो कलात्मक सम्पदाको अस्तित्व नै संकटमा परेको स्थानीयको गुनासो छ।
पर्यटनको प्रचुर सम्भावना बोकेको पाल्पामा पुराना संरचनाहरूको मर्मत, जीर्णोद्धार र संरक्षण गरी भावी पुस्ताका लागि जोगाउनु आजको मुख्य आवश्यकता बनेको छ। यसतर्फ सम्बन्धित स्थानीय सरकार तथा पुरातत्त्व विभागले तत्काल ध्यान दिनुपर्ने स्थानीयले बताएका छन् ।






