पाल्पा। पश्चिम नेपालकै प्रमुख शक्तिपीठमध्ये एक पाल्पाको भैरवस्थान मन्दिर धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । रिब्दिकोट गाउँपालिका–४, भैरवस्थानमा अवस्थित यस मन्दिरमा दैनिक सयौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् । यस मन्दिरको अनेकौँ विशेषता र आकर्षणमध्ये एक प्रमुख आकर्षण हो, यहाँ भगवान भैरवनाथलाई चढाइने विशेष प्रसाद ‘रोट’ ।
भैरवनाथलाई खुसी पार्न र आफ्नो मनोकांक्षा पूरा गर्न भक्तजनहरूले विशेष किसिमले तयार पारिने ‘रोट’ चढाउने परम्परा सदियौँदेखि चल्दै आएको छ ।
सामान्य रोटी भन्दा निकै फरक र विशेष प्रकारले तयार पारिने परिकार हो । मन्दिर व्यवस्थापन र स्थानीय जानकारहरूका अनुसार, शुद्ध चामलको पिठोमा घ्यू, सख्खर (खुदो) वा चिनी, र विभिन्न मरमसला (ल्वाङ, सुकुमेल, नरिवल आदि) को सम्मिश्रणबाट रोटको पीठो तयार गरिन्छ । यसरी तयार पारिएको पीठोलाई फलामको विशेष तावामा राखेर कोइलाको आगोमा घ्यू हाल्दै सुस्तरी पकाइन्छ । निकै बाक्लो हुने भएकाले यसलाई भित्रैसम्म पाक्ने गरी सेकाउन लामो समय लाग्छ ।
भैरवस्थानमा चढाइने रोटको आकार र तौल भक्तजनको भाकल र इच्छामा निर्भर रहन्छ । सामान्यतया सवा एक मानाेको रोट बढी प्रचलनमा भए पनि यहाँ भक्तजनहरूले एक पाथीकाे विशाल रोटहरू भाकल स्वरूप चढाउने गरेका छन् । यस्ता ठूला रोट पकाउनका लागि मन्दिर परिसरमै विशेष व्यवस्था मिलाइएकाे छ।
भगवान भैरवनाथलाई प्रसन्न पार्न ‘रोट’ को भोग लगाउनु अनिवार्य जस्तै मानिन्छ । सन्तान प्राप्ति, असाध्य रोगबाट मुक्ति, सुख–शान्ति, र व्यापार व्यवसायमा सफलताको कामना गर्दै भक्तजनहरू रोट चढाउने भाकल गर्छन् । मनोकांक्षा पूरा भएपछि खुसीयाली स्वरूप सपरिवार मन्दिर पुगेर रोट चढाउने प्रचलन रहेको छ ।
भैरवस्थानको रोटको अर्को मुख्य विशेषता यसको टिकाउपन हो । प्रशस्त घ्यू र सख्खरको प्रयोग तथा कोइलाको आगोमा राम्रोसँग सेकाएर पकाइने हुनाले यो रोट धेरै दिनसम्म पनि बिग्रँदैन । यसै कारण, टाढा-टाढाबाट आउने भक्तजनले यसलाई प्रसादको रूपमा घर लगेर लामो समयसम्म आफन्त र छरछिमेकलाई बाँड्ने गर्छन् ।
यो धार्मिक परम्पराले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेलेको छ । मन्दिर आसपासमा दर्जनौँ पसल र होटलहरू सञ्चालनमा छन्, जहाँ दैनिक ठूलो परिमाणमा रोट पाक्ने गर्छ । यसले स्थानीय स्तरमा सयौँलाई रोजगारी दिएको छ भने कृषकहरूले उत्पादन गरेको चामल र घ्यूको खपतसमेत बढाएको छ ।
धार्मिक आस्था, परम्परागत सीप र अनुपम स्वादको संगम बनेको पाल्पाको ‘रोट’ दर्शनार्थीका लागि प्रसाद मात्र नभएर यहाँको चिनारी नै बनेको छ । भैरवनाथ मन्दिरमा बडा दशैं र चैते दशैं, बैशाख महिनामा भक्तजनकाे भीड लाग्ने गर्दछ । यसका साथै अन्य महिनामा मंलरबार र शनीबार धेरै भक्तजन पूजाका लागि पुग्ने भएपनि दैनिक भाकल अनुसारकाे पूजा हुने गर्दछ ।
याे मन्दिरमा वभिन्न वलीहरू पनि चड्ने गर्दछ ।






