पाल्पामा तीन वर्षमा २६९ सवारी दुर्घटना, ९३ जनाको ज्यान गयाे

तानसेन।  पाल्पा जिल्लामा विगत तीन आर्थिक वर्षको अवधिमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा ९३ जनाले  ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजेन्द्र खड्काका अनुसार तीव्र गति, साघुँरा सडक र सवारी साधनको निरन्तर बढ्दो चापका कारण सडक दुर्घटना र मानवीय क्षति हुने गरेको हाे ।

तीन वर्षको अवधिमा दुर्घटनामा संलग्न ४८९ वटा सवारी साधन ठोक्किएका वा पल्टिएका छन् भने दुर्घटनामा परी १२४ जना गम्भीर र ३९१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

कार्यलयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल ३८ वटा सवारी दुर्घटना भएका थिए । सो अवधिमा दुर्घटनाका कारण ३६ जना मानिसको मृत्यु भएको थियो । यसैगरी, सोही वर्ष ४२ जना मानिस गम्भीर घाइते र ४४ जना सामान्य घाइते भएको थिए ।

त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटनाको संख्या बढेर ८५ पुगेको थियो । जसमा १५० वटा सवारी साधन दुर्घटनामा परेका थिए । सवारी दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या भने घटेर २७ मा झरेको थियो । यो वर्ष गम्भीर घाइते हुनेको संख्या ३४ र सामान्य घाइते हुनेको संख्या १४८ थियो ।

यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा दुर्घटनाको संख्या बढेर १४६ पुगेको छ । यस अवधिमा कुल १८६ वटा सवारी साधन दुर्घटनामा परेका थिए । यस वर्ष दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । सो अवधिमा ४८ जना गम्भीर घाइते र १९९ जना मानिस सामान्य घाइते भएका थिए । तथ्यांकलाई हेर्दा सबैभन्दा बढी मोटरसाइकल र जिप।कार दुर्घटनामा बढी पर्ने गरेको कार्यालय प्रमुख खड्काले बताए।

पाल्पाका साघुँरा तथा घुमाउरा सडकहरू, सवारी साधनको अत्यधिक चाप,  न्यून ट्राफिक प्रहरी र  प्रविधिमैत्री आधुनिक उपकरणको कमी जस्ता कारणले ट्राफिक व्यवस्थापनमा समस्या रहदै अाएकाे छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको