टुँडिखेलमा साइकल सिक्ने ती दिन!

तानसेन टुँडिखेल भन्नेबित्तिकै अहिले धेरैको सम्झनामा सायद बिहान-बेलुकाको हिँडडुल, चौरमा बसेर घाम ताप्दै बदाम र सुन्तला खाने, खेलकुदका गतिविधि, विभिन्न कार्यक्रम तथा महोत्सवका दृश्यहरू आउँछन्।

तर, केही वर्षअघिको टुँडिखेल कतिपयका लागि यीभन्दा फरक एउटा विशेष सम्झनासँग पनि जोडिएको थियो- साइकल सिक्ने ठाउँ।

एक समय टुँडिखेलमा साइकल सिक्नेहरूको छुट्टै संसार देखिन्थ्यो। कोही साइकलको सिटमा बसेर सन्तुलन मिलाउने प्रयास गरिरहेका हुन्थे, कोही पछाडिबाट साइकल समातेर दौडिरहेका हुन्थे। कतिपय अभिभावक वा साथीहरू लड्ला कि भनेर नजिकैबाट हेरिरहेका हुन्थे। अनि, बल्लबल्ल सन्तुलन मिलाएर साइकल केही मिटर अघि बढाउँदा देखिने खुसीको दृश्य छुट्टै हुन्थ्यो।

साइकल सिक्ने क्रममा लड्नु, फेरि उठ्नु र पुनः प्रयास गर्नु त्यतिबेलाको सामान्य दृश्य थियो। कसैले पहिलोपटक एक्लै साइकल गुडाउँदा पाएको खुसी होस् वा साथीले पछाडिबाट साइकल समातेर दौडिएको क्षण- ती दिनका सामान्य लाग्ने गतिविधिहरू अहिले भने धेरैका लागि बाल्यकाल वा युवावस्थाका अविस्मरणीय सम्झना बनेका छन्।

तर, समयसँगै टुँडिखेलको स्वरूप र प्रयोग फेरिएको छ। कुनै समय साइकल सिक्नेहरूको चहलपहल देखिने टुँडिखेल अहिले त्यस्ता दृश्यबाट टाढिएको छ। वर्षौं वर्ष भयो, यहाँ साइकल सिक्ने र सिकाउने दृश्य देखिन छाडेका छन्।

तर, यहाँ साइकल सिकेका पुस्ताका लागि टुँडिखेल केवल खुला मैदान मात्र होइन, बाल्यकालका अनेक सम्झना जोडिएको ठाउँसमेत हो। आज टुँडिखेलमा साइकल सिक्नेहरूको चहलपहल नदेखिए पनि ती पुराना दृश्य र अनुभव भने धेरैको स्मृतिमा अझै ताजै हुन सक्छन्।

पुरानो टुँडिखेल सम्झँदा, साइकल सिक्दै गरेका ती दिनहरू सम्झिनेहरू अझै धेरै होलान्!

 

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको