पाल्पाबाट उच्च मूल्यका बाली निर्यातको तयारी

तानसेन। पाल्पाका तीन पालिकाबाट उच्च मुल्यका बाली निर्यात गर्न किसान तथा प्राविधिकहरुलाई तालिम दिइएको छ । तानसेन, माथागढी र पूर्वखोलाका किसानले उत्पादन गरेका मसला, बाली तथा गेडागुडी विदेशमा निर्यातका लागि बाली उत्पादन गर्ने किसान र पालिकाका कृषि प्राविधिकहरुलाई अर्गानिक बाली उत्पादन तथा अर्गानिक प्रमाणीकरण प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आर्थिक तथा प्राविधिक सहयोग गर्ने संस्था सिआरएस नेपालका कार्यक्रम प्रवन्धक प्रचण्ड कट्टेलले अर्गानिक मसलाबाली तथा गेडागुडी उत्पादन गर्न किसानलाई आग्रह गरे। उनले अर्गानिक बाली विदेशमा निर्यात गर्न सकिने र त्यसबाट किसानले उच्च मूल्य पाउने बताए । अहिले किसानले उत्पादन गरेका अधिकांश वस्तुमा विषादि भएकाले वस्तुले मूल्य नपाएको उल्लेख गर्दै उनले नेपालबाट अर्गानिक अदुवा, बेसार, कागुनो, गेडागुडीले विदेशमा राम्रो मूल्य पाएको जानकारी दिए ।

कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले यो वर्ष पाल्पाबाट अदुवा र गेडागुडी विदेशमा निर्यात गर्ने योजना रहेको बताए ।  उनले विगतमा मूल्य नपाएर खेर गएको बालीले अहिले अर्गानिक भएकै कारण मूल्य पाउँदै गएको उल्लेख गरे। निर्देशक कार्कीले किसानले अर्गानिक उत्पादनको मापदण्ड अनुसार तरकारी, अदुवा, गेडागुडी उत्पादन गरेको खण्डमा विदेशमा समेत त्यसले बजार पाउने धेरै उदाहरण रहेको बताए ।

पछिल्लो समयमा बजारमा तरकारी तथा अन्य बालीमा अत्यधिक विषादि प्रयोग भएका कारण मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको अवस्थामा उपभोक्ताले समेत अर्गानिक वस्तुको प्रयोगमा ध्यान दिनुपर्नेमा निर्देहक कार्कीले जोड दिए ।

तालिममा कसरी अर्गानिक वस्तु उत्पादन गर्न सकिने, अर्गानिक उत्पादनको प्रमाणीकरण, अमेरिका, जापान, युरोपको अर्गानिक वस्तु उत्पादन मापदण्ड, अर्गानिक कृषि उत्पादन कसरी गर्ने बारे सिकाइएको थियो ।

तालिममा सेरेस नेपालका राष्ट्रिय निर्देशक तथा प्रशिक्षक शंकर गुरुङ्गले अर्गानिक उत्पादनलाई कसरी प्रमाणीकरण गर्नेबारे सहजीकरण गरेका थिए । यस्तै अर्गानिक बाली उत्पादन तथा अर्गानिक प्रमाणीकरण स्पाइसिस कार्यक्रम संयोजक सन्देश खनालले पाल्पाबाट यो वर्षदेखि अर्गानिक बाली प्रमाणीकरण प्रक्रियाको थालनी गरेर युरोपमा निर्यातको ढोका खोलिने जानकारी दिए ।

यो वर्ष माथागढीका दुई सय बढी किसान अर्गानिक मसला बाली उत्पादनमा सक्रिय रहेका छन् । उनीहरुको बाली प्रमाणीकरण, भण्डारण, पूर्वाधार निर्माण तथा प्राविधिक सहयोग गर्ने कार्यमा माथागढी, पूर्वखोला र तानसेन नगरपालिकाले लगानी गर्ने ग्रामीण आर्थिक विकास संघ रेडाका फिल्ड अधिकृत नृप परियारले जानकारी दिए।

तालिममा माथागढी, पूर्वखोला र तानसेनका किसान, सहकारीका पदाधिकारी, कृषि प्राविधिक गरी २० जनाको सहभागिता रहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको