पाल्पा । रिब्दीकोट गाउँपालिकामा विद्यार्थी तथा स्थानीय नागरिकको मुटु स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
रिब्दीकोट गाउँपालिकाको आयोजना तथा नेपाल हार्ट फाउन्डेसन (NHF) पाल्पा शाखाको प्राविधिक सहयोगमा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीको मुटु स्वास्थ्य परीक्षण गरिएको हो।
भदौ १ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको कार्यक्रमको अन्तिम दिन शुक्रबार खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा गाउँपालिकाभित्रका नागरिकको मुटु स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन औपचारिक समापनसमेत गरिएको छ। वडा नम्बर ३ का अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा भएको समापन कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले नागरिककाे स्वास्थ्यलाइ गाउँपालिकाले प्राथमिकतामा राखेर सेवा दिएकाे बताए । उनले निर्वाचित भएदेखि नै विभन्न शिविर र स्वास्थ्यका क्षेत्रमा नागरिककाे अावश्यकता अनुसारकाे कार्यक्रमहरू संचालन गर्दै अाएकाे बताए ।
नेपाल हार्ट फाउन्डेसनका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुशान्तप्रसाद बन्जाडे, पालिकका स्वास्थय शाखा प्रमुख सुनिल अधिकारीलगायतले नागिरककाे स्वास्थ्यका लागि मुटु परीक्षण कार्यक्रमा थप उपलबधी भएकाे दावी गरे ।
समापन कार्यक्रममा खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि आएका नागरिकको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत गाउँपालिकाभित्रका विद्यार्थी तथा नागरिकमा मुटु स्वास्थ्यसम्बन्धी सचेतना बढाउनुका साथै स्वास्थ्य परीक्षणको अवसर प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।






