पाल्पामा ६ करोड ठगी गरेर फरार हुने व्यक्ति पक्राउ

तानसेन। पाल्पा झण्डै ६ करोड ठगेर अदालतबाट दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी व्यक्तिलाई पक्राउ गरेको हो। बैंकिङ कसुर मुद्दामा फरार रहेका रामपुर नगरपालिका–३ कुतिपुरका ४२ वर्षीय चोकबहादुर थापालाई प्रहरीले रामपुर–३ कुतिपुरबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत पाल्पाले २०८१ पुस १७ गतेको फैसलाबाट उनलाई बैंकिङ कसुरमा १४ दिन कैद र ५ करोड ९२ लाख ३८ हजार ८ सय रुपैयाँ जरिवाना तोकेको थियो। त्यस्तै, संगठित अपराध कसुरमा दोषी ठहर भई फरार रहेका रामपुर नगरपालिका–६ का ४२ वर्षीय कोपबहादुर थापा र सोही स्थानका ४१ वर्षीय नारद कुमाललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई रामपुर नगरपालिका–५ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अदालतको फैसलाअनुसार कोपबहादुर थापा र नारद कुमाल दुवैलाई जनही ७ महिना २३ दिन कैद सजाय तोकिएको छ। कोपबहादुर थापालाई १ लाख ५० हजार रुपैयाँ र नारद कुमाललाई १५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

तीनै जनाबाट अदालतको फैसला कार्यान्वयनअन्तर्गत कुल ५ करोड ९४ लाख ३ हजार ८ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको देखिन्छ।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनालाई कैद भुक्तान तथा जरिवाना असुलउपरका लागि २०८३ भदौ ६ गते जिल्ला अदालत पाल्पामा पेस गरिएको प्रहरीले जनाएको छ।

अदालतबाट फैसला भइसकेका तर कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई पाल्पा प्रहरीले निरन्तरता दिँदै आएको छ। यसअघि पनि पाल्पामा विभिन्न कसुरमा दोषी ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गरी अदालतमा बुझाइएका घटनाहरू सार्वजनिक भएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको