तानसेन। गरीमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीकाे माग गर्दै विद्यार्थीहरूले तानसेनमा प्रदर्शन गरेका छन् । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका विद्यार्थीहरूले दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन प्रदर्शन गरेका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वमा क्याम्पस परिसरबाट निकालिएको र्याली तानसेन बजारका विभिन्न स्थान परिक्रमा गर्दै शीतलपाटीमा पुगेर कोणसभा तथा दीप प्रज्वलनमा परिणत भएको थियो। विद्यार्थीहरूले गरीमाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न माग गरेका थिए।
कोणसभामा स्ववियु सभापति मिलन घर्ती मगर, उपसभापति सन्तोष सुनार, नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनका इकाई सदस्य नवीन थापा, अनेरास्ववियुका क्याम्पस इकाई अध्यक्ष मनोज सिग्देल, अखिल क्रान्तिकारीका इकाई सदस्य आयुष्मा गाहा र अखिल छैटौँका क्याम्पस इकाई सचिव दिपा थापालगायत विद्यार्थीहरूले गरीमाले न्याय पाउनुपर्नेमा जोड दिएका थिए।
केही दिनअघि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरीमा चौधरीमाथि जघन्य अपराध भएको थियो। उक्त घटनाको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग विद्यार्थीहरूले राखेका छन्।






