पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–७ का ४९ वर्षीय भीमबहादुर सारु रहेका छन्। प्रहरी चौकी बल्डेङ्गढीबाट खटिएको प्रहरी वरिष्ठ हवल्दारको कमान्डमा रहेको टोलीले उनलाई रैनादेवी छहरा गाउँपालिका–८, झुम्सेडाँडाबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पाल्पा जिल्ला अदालतको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा सारुले रु. ३ लाख २६ हजार ७ सय जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो।
पक्राउ परेका सारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जरिवाना असुलउपरका लागि २०८३ भदौ ९ गते पाल्पा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।






