पाल्पामा गरियो पहिचान नभएका सात शवको व्यवस्थापन

तानसेन ।  भोटेकोशीको बाढीमा परी मृत्यु भएपछि पाल्पा ल्याइएका सात वटा शवको व्यवस्थापन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैंठकपछि पहिचान नखुलेका सात जनाको शव व्यवस्थापन गरिएको हो ।

बैठकको निर्णयअनुसार तानसेन नगरपालिका वडा नं. १, गोर्खेकोटस्थित सामुदायिक वनमा शव व्यवस्थापन गरिएको हो । पहिचान नखुलेका तथा बेवारिसे शव विपद् व्यवस्थापन निर्देशिका–२०८३ अनुसार पहिचान नखुलेका आठ शवमध्ये सात जनाको डीएनए परीक्षण तथा हुलिया विवरण सङ्कलन गरी व्यवस्थापन गरिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बताए ।

भोटेकोशी बाढीमा परी मृत्यु भइ पहिचान नखुलेका शव त्रिवेणीबाट पाल्पाका तीन अस्पतालका शवगृहमा ल्याएर राखिएको थियो। पाँच दिनअघि पाल्पा ल्याइएका ती शव पाल्पा अस्पताल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज, प्रभासको शवगृहमा राखिएको थियो। सबै शवको डीएनए परीक्षणका लागि नमुना सङ्कलन तथा हुलिया विवरण लिएपछि खाल्डो खनेर शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

व्यवस्थापन गरिएका शवमा तीन पुरुष, दुई महिला, एक बालक र एक बालिका रहेका छन्। एक महिलाको शव भने अहिले पनि पाल्पा अस्पतालको शवगृहमा राखिएको छ। उनको प्रारम्भिक पहिचान खुलेको हुँदा व्यवस्थापन नगरिएको हो ।

उनको शव नुवाकोटका स्थानीयले आफ्नो दावी गरेका छन् । प्रक्रिया पूरा भएमा आफन्तको जिम्मा लगाइने बताइएको छ ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको