१२ गतेसम्म दोभान-सिद्धबाबा खण्डमा रातिमा सवारी संचालनमा रोक

तानसेन। निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिम न्यूनीरकण गर्न सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको जोखिमको क्षेत्रमा रातिमा सवारी संचालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै आजदेखि १२ गतेसम्म दोभान सिद्धबाबा क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी संचालनमा पूर्णतया रोक लगाएको जनाएको छ । लगातारको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ । उक्त क्षेत्र सो राजमार्गको सबै भन्दा जोखिमको क्षेत्र मानिन्छ । वर्षपछि ढुंगा खस्ने र पहिरो जाने जस्ता समस्याले यात्रुले सास्ती खेप्दै आएका छन् । बिहीबार बिहान पनि सिद्धबाबा क्षेत्रमा ढुंगासहितको पहिरो खसेपछि केहीबेर सवारी आवागमन बन्द भएको थियो ।

सूचनामार्फत आपत्कालीन अवस्थामा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, सशस्त्र प्रहरी बल १११४ र जिल्ला आपत्कालीन केन्द्र १२३४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

हाल देशभरको मौसममा बदली आएको छ । हिजोदेखि बिहानसम्म पाल्पाको बल्डेङ्गगढीमा सबैभन्दा धेरै १६१ मिलिमिटर वर्षा भएको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सूचना

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको