तानसेन। पाल्पा सदरमुकाम तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको उपचार सुबिधा स्थगित गर्ने निर्णय गरेको छ । बीमा बोर्डबाट बक्यौता रकम उपलब्ध नभएको भन्दै यहीँ साउन २१ गतेदेखि सेवा स्थगन गर्ने अस्पतालले जनाएको हो ।
लामो समयदेखि बीमा बापतको रकम भुक्तानी नपाउँदा सेवा दिन समस्या भएको, बोर्डले दिने रकम समयअनुकुल परिमार्जन नभएको र दावी भुक्तानी गरेअनुसारको रकम नपाएको भन्दै बीमा अन्तर्गतको उपचार सुबिधा स्थगित गर्ने निर्णय गरेको अस्पतालका निर्देशक निर्देशक डा. रचेल कारखले जानकारी दिइन् ।
अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने तथा उपचाररत रहेका बिरामीको समेत उपचार नगर्ने निर्देशक डा. कारखले बताइन् । बीमा बोर्डले समयमै भुक्तानी नदिने, भुक्तानी दिएपनि दावी रकममा ३० प्रतिशत कटौती गर्ने र बजार मुल्य अनुसारको मुल्य नपाउँदा सेवा बन्द गर्न बाध्य भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईका अनुसार बीमा सम्बन्धी सेवाहरु स्थगित भएपनि अस्पतालले विपन्न परिवारका लागि दिने निशुल्क सेवा, तथा अन्य बिरामीका लागि दिन सहुलियतपूर्ण सेवा कायमै रहने छ।
बीमा बोर्डबाट १२ करोड बढी भुक्तानी हुन बाँकी रहेको अस्पतालले जनाएको छ। बीमा अन्तर्गतको सेवा बन्द भएपछि पाल्पाका अधिकांश बिरामीले उपचारका लागि सास्ती खेप्नुपर्ने बताउदै आएका छन् ।






















