‘धवल सिर्जना पुरस्कार’ बाट दुई साहित्यकार पुरस्कृत

पाल्पा। धवल पुस्तकालयले ‘धवल सिर्जना पुरस्कार’ बाट दुई साहित्यकारलाई पुरस्कृत गरेको छ । साहित्यकार तथा इतिहासविज्ञ प्राध्यापक डा. कर्णबहादुर बानियाँ र साहित्यकार आरबी निश्चल पुरस्कृत भएका हुन् ।

पाल्पाको इतिहास, संस्कृति र मूलतः बाल साहित्यका क्षेत्रमा अटुट साधना गरेका बानियाँलाई धवल दीर्घ साधना पुरस्कार प्रदान गरिएको छ । निश्चलको ‘उल्टो धार’ कविता संग्रहलाई धवल सिर्जना पुरस्कार प्रदान गरेको हो ।

रिब्दीकोट गाउँपालिका–७, घर भएका शिक्षक तथा साहित्यकार निश्चल साहित्यको लेखनमा दुई दशक बढीको अनुभव छ । उनले यसअघि मौन हिमाल (२०६२), सपना फूल (२०६२), आँसु खस्दै गर्छ (२०६३), पैताला पुकार (२०७३), किस्ता किस्तामा जिन्दगी (२०७६) प्रकाशित गरिसकेका छन् ।

पुरस्कृत ‘उल्टो धार’ कृति तीन खण्डमा विभाजित छ । ४८ कविताहरूको संकलन रहेको कृतिमा अस्तित्व, समय, प्रेम, नारी, जातीय विभेद र सामाजिक विसंगतिप्रति वितृष्णा विषयका कविता रहेका छन् । निश्चलको लेखनी जातीय भेदभाव, समाजिक अन्याय, अस्तित्व र दर्शनको झिल्का समेटेको पाइन्छ ।

डा. बानियाँको सेनकालीन पाल्पाको संस्कृति : एक ऐतिहासिक विवेचन, पाल्पाको भगवती जात्रा लगायत इतिहाससँग सम्बन्धित थुप्रै कृति तथा अनुसन्धानात्मक पुरुतक प्रकाशत छन् । विशेषगरी इतिहाससँग रुचि राख्ने बानियाँले पाल्पाको शाही वा सेनको शासनकालका सांस्कृतिक पक्षहरूको अध्ययन गरेका छन् । स्थानीय समुदायका सांस्कृतिक–ऐतिहासिक दृष्टान्तहरूमा रुचि राख्ने बानियाँले पाल्पा क्षेत्रका परम्परा र लोकचेतनालाई विश्लेषण गर्ने कार्य गरेका छन् ।

कार्यक्रममा पुरस्कृतलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारू, धवल पुस्तकालयका अध्इक्ष युवराज पौडेल लगायतले सम्मानपत्र, नगद पुरस्कार र पाल्पाली ढाकाले सम्मान गरे । दुवै पुरस्कारको राशी २५ हजार रूपैयाँ नगद र प्रमाणपत्र रहेको पुस्तकालयका महासचिव राजेश कुमार अर्यालले बताए ।

समाजसेवी बुद्धिप्रसाद शर्माले साहित्यकार बानियाँ र निश्चलले पाल्पाका लागि अमूल्य योगदान गरेको बताए । सम्मानित स्रष्टा बानियाँले २५ वर्षको बसाइँमा पाल्पाबाट धेरै कुरा सिक्ने अवसर मिलेको धारणा राखे । साहित्यकार निश्चलले यो पुरस्कारले साहित्यमा थप मेहनत गर्न प्रेरणा मिलेको बताए ।

साहित्यकार लक्षिमा ज्ञवालीले सम्मानित दुवै स्रष्टाले पाल्पाको साहित्य तथा इतिहास लेखनमा उल्लेखनीय योगदान गरेको बताए । पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सिनाले भाषा, साहित्यका क्षेत्रमा विशिष्ट योगदान गरेका श्रष्टालाई सम्मान गरेर धवल पुस्तकालयको गरिमा अझ उँचो भएको बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer