पाल्पा। धवल पुस्तकालयले ‘धवल सिर्जना पुरस्कार’ बाट दुई साहित्यकारलाई पुरस्कृत गरेको छ । साहित्यकार तथा इतिहासविज्ञ प्राध्यापक डा. कर्णबहादुर बानियाँ र साहित्यकार आरबी निश्चल पुरस्कृत भएका हुन् ।
पाल्पाको इतिहास, संस्कृति र मूलतः बाल साहित्यका क्षेत्रमा अटुट साधना गरेका बानियाँलाई धवल दीर्घ साधना पुरस्कार प्रदान गरिएको छ । निश्चलको ‘उल्टो धार’ कविता संग्रहलाई धवल सिर्जना पुरस्कार प्रदान गरेको हो ।
रिब्दीकोट गाउँपालिका–७, घर भएका शिक्षक तथा साहित्यकार निश्चल साहित्यको लेखनमा दुई दशक बढीको अनुभव छ । उनले यसअघि मौन हिमाल (२०६२), सपना फूल (२०६२), आँसु खस्दै गर्छ (२०६३), पैताला पुकार (२०७३), किस्ता किस्तामा जिन्दगी (२०७६) प्रकाशित गरिसकेका छन् ।
पुरस्कृत ‘उल्टो धार’ कृति तीन खण्डमा विभाजित छ । ४८ कविताहरूको संकलन रहेको कृतिमा अस्तित्व, समय, प्रेम, नारी, जातीय विभेद र सामाजिक विसंगतिप्रति वितृष्णा विषयका कविता रहेका छन् । निश्चलको लेखनी जातीय भेदभाव, समाजिक अन्याय, अस्तित्व र दर्शनको झिल्का समेटेको पाइन्छ ।
कार्यक्रममा पुरस्कृतलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारू, धवल पुस्तकालयका अध्इक्ष युवराज पौडेल लगायतले सम्मानपत्र, नगद पुरस्कार र पाल्पाली ढाकाले सम्मान गरे । दुवै पुरस्कारको राशी २५ हजार रूपैयाँ नगद र प्रमाणपत्र रहेको पुस्तकालयका महासचिव राजेश कुमार अर्यालले बताए ।
साहित्यकार लक्षिमा ज्ञवालीले सम्मानित दुवै स्रष्टाले पाल्पाको साहित्य तथा इतिहास लेखनमा उल्लेखनीय योगदान गरेको बताए । पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सिनाले भाषा, साहित्यका क्षेत्रमा विशिष्ट योगदान गरेका श्रष्टालाई सम्मान गरेर धवल पुस्तकालयको गरिमा अझ उँचो भएको बताए ।





















