जलेश्वरको महायज्ञ क्षेत्र : सरसफाईमा जुटे स्थानीय बासिन्दा

पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नं. ५ स्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र जलेश्वर मन्दिर (धाम) को सर्वाङ्गीण विकासका लागि आगामी माघमा सञ्चालन हुन लागेको शिव पुराण महायज्ञको तयारीलाई तीव्र पारिएको छ ।

यही आउँदो माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञलाई भव्य रूपमा सफल पार्न स्थानीय बासिन्दाहरूले स्वतः स्फूर्त रूपमा सरसफाइ तथा व्यवस्थापनका कार्यहरू सुरु गरेका हुन् ।  महायज्ञ क्षेत्रको झाडी तथा बनमारा फडानी गरी महायज्ञ क्षेत्रलाई सुन्दर बनाउन स्थानीयबासिन्दा जनश्रमदानमा जुटेका हुन ।

महायज्ञको तयारी स्वरूप अहिले जलेश्वर आसपासको क्षेत्रमा व्यापक सरसफाइ अभियान चलिरहेको छ । “हाम्रो धार्मिक सम्पदा, हाम्रो पहिचान” भन्ने नाराका साथ स्थानीय बासिन्दाहरूले मन्दिर परिसर, पहुँच मार्ग र आसपासका क्षेत्रलाई स्वच्छ र सुन्दर बनाउन श्रमदान गरिरहेको महायज्ञ प्रचार समितिका संयोजक शिव कुँवरले बताए ।

धार्मिक र सांस्कृतिक दृष्टिकोणले मात्र नभई ऐतिहासिक एवं पर्यटकीय रूपमा समेत महत्वपूर्ण रहेको यस धामको प्रचार–प्रसार र विकास गर्नु महायज्ञको मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ । स्थानीय बासिन्दाहरूले यो महायज्ञलाई केवल एक धार्मिक अनुष्ठान मात्र नभई पवित्र भूमिको संरक्षण र संवर्धन गर्ने एउटा महान अवसरको रूपमा लिएका छन् ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले शिव पुराण महायज्ञमा आ–आफ्नो क्षेत्रबाट जोडिन सबैलाई आह्वान गरेका छन् ।महायज्ञ सफल भएमा यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने अध्यक्ष कार्कीले बताए ।

“यो पवित्र भूमिको विकासका लागि हामी सबैको हातेमालो आवश्यक छ,” स्थानीयबासिन्दा प्रमुख कुँवरले भने, “यस महायज्ञमा सहभागी भई पुण्य आर्जन गर्न र जलेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुरÞ्याउन हामी सम्पूर्ण श्रद्धालु भक्तजन र सरोकारवालाहरूमा अनुरोध गर्दछौँ ।”

तपाईको प्रतिक्रिया