काठमाडौं । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ ।

माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा रानीमहलका जग्गा शंकास्पद रूपमा अतिक्रमणमा परेको तथ्य फेला परेको हो ।सतर्कता केन्द्रका अनुसार १८ माघ २०६२ मा पाल्पा दरबारमा आगलागी हुँदा मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएका थिए ।

तत्पश्चात् १२ असार २०६३ मा नयाँ स्रेस्ता कायम गर्न माग गर्दै खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठले गाविस कार्यालयमा स्रेस्ता कायम गर्न माग गर्दै निवेदन दर्ता गराएको पाइएको छ ।सोही निवेदनको आधारमा मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको थियो । यो कार्यमा मालपोत कार्यालयको भूमिका शंकास्पद पाइएको छ ।

केन्द्रको छानबिन प्रतिवेदनअनुसार २०६० सालमा मिसिल नम्बर ३६० खडा गरी कित्ता ६६० अन्तर्गत मोही महालक्ष्मी श्रेष्ठ कायम भएको पुर्जा प्राप्त गरेको देखिन्छ ।सोही आधारमा ५ असोज २०७२ मा मालपोत कार्यालयको निर्णयले मोही नामसारी हुन गएको मालपोतको रेकर्डमा पाइएको थियो ।हाल सो कित्ता तारामान श्रेष्ठ, निलम श्रेष्ठ र तानसेन नगरपालिका–७ को नाममा नामसारी भइसकेको छ ।

तपाईको प्रतिक्रिया