दशैको मुखमा किसानलाई नगद अनुदान पाउँदा खुसी छन् मैनादीका किसान

पाल्पा- रिब्दीकोट गाउँपालिकाले दशैको मुखमा गोलभेडा उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण थालेको छ । गरीब तथा बेरोजगार यूवाहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउने र हाल कृषि क्षेत्रमा रहेका किसानलाई व्यवसायिक बनाउन अनुदानको व्यवस्था गरेको हो ।

रिब्दीकोट गाउँपालिकाले वडा नम्वर ७ मैनादीका ४९ जना किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको हो । चालु आवको साउन र भदौ महिनामा उत्पादित गोलभेडाको उत्पादनका आधारमा २ लाख २३ हजार चार सय चार रुपैयाँ किसानलाई अनुदान वितरण गरिएको हो ।

मैनादी कृषि सहकारी संस्थामा आवद्ध ४९ किसानले दुई महिनामा उत्पादित १ लाख ३२ हजार किलोग्राम गोलभेडामा अनुदान वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले नगद कसैलाई पनि वितरण गर्ने कार्यक्रम नभएको बताउनुभयो ।
उहाँले किसानलाई उत्पादनका आधारमा नगद पुरस्कार प्रदान गर्दा थप मेहनत गर्ने बानीको विकास हुने बताउनुभयो । गाउँपालिका अध्यक्ष जीसीका अनुसार व्यक्तिगत रुपमा अनुदान वितरण गर्दा समस्या हुने भएकोले सहकारी मार्फत किसानलाई अनुदानका कार्यक्रम रहेको छ ।

५ सय किलो उत्पादन गर्ने किसानलाई मात्र अनुदान वितरण गर्दै आएकोमा डेढ सय किलो उत्पादन गर्ने किसानलाई समेत अनुदानको व्यवस्था गर्ने अध्यक्ष जीसीको भनाई छ । नीतिगत रुपमा नै परिर्वतन गर्नुपर्ने उहाँले बताउनुभयो ।गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषिराम अर्यालले किसानलाई अझ व्यवसायिक बनाउन उत्पादनमा आधारित अनुदान वितरण गरिएको बताउनुभयो ।

उहाँले ५ सय भन्दा माथि उत्पादन गर्ने किसानलाई अनुदान वितरण गरिएकोमा अब निम्न वर्गीय परिवारलाई सम्वोधन हुने गरी पाँच सय किलो भन्दा कम उत्पादन गर्नेलाई पनि अनुदान व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गोलभेडासँग सुन्तला र मासुमा पनि अनुदानको कार्यक्रम ल्याउने गाउँपालिकाको सोच रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका सदस्य कमला भण्डारीले सदस्य र सहकारी बीच राम्रो सम्वन्ध कायम हुँदा कृषि क्षेत्रबाट राम्रो काम हुन सफल भएको बताउनुभयो । यो काम रिब्दीकोट गाउँपालिकाको नमुना काम हो ।

रिब्दीकोग गाउँपालिका ७ का वडाध्यक्ष निलबहादुर रास्कोटीले उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई थप मेहनत गर्न प्रोत्साहन मिलेको बताउनुभयो । अनुदान वितरण कार्यक्रमा उमेश कुवर, इन्द्र बहादुर कुबर, बेनीराम पुन केशव कुँवर अनुदान पाउनेहरुलाई थप मेहनत गरी अझ नमुना गाउँ बनाउन अनुरोध गर्नुभयो । किसानले १७ हजारसम्म नगद प्रापत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया