पाल्पा रारा बचत तथा ऋण सहकारीको लघुवित्त सम्मेलन श्रीनगरमा सम्पन्न

पाल्पा । जिल्लाकै पुरानो पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त सम्मेलन तथा सहकारी शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

तानसेनको श्रीनगर डाडाँमा भएको कार्यक्रममा लघुवित्त तर्फका करिब १५ सय सदस्यको सहभागिता रहेको थियो । सहकारीको वर्तमान अवस्थाका विषयमा जानकारी दिने उद्देश्यले सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष जगदीश भट्टराईले जानकारी दिए ।

सम्मेलनमा सम्बोधन गर्दै प्रदेश नं.५ सहकारी शिक्षालयका प्रमुख प्राचार्य श्रीकृष्ण नेपालले वचत तथा ऋण सहकारी संस्थाहरुमा अव्वल र पुरानो सहकारी पाल्पा राराले वचत तथा ऋणको कारोवार मात्र नभएर लघुवित्तका क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको बताए । उनले सहकारीको माध्यमबाट लघुवित्तका १ हजार भन्दा धेरै शेयर सदस्यलाई प्रशिक्षण दिनुका साथै पाल्पा घोषणा कार्यक्रम गरेको यो नौलो र समय सापेक्ष कार्यक्रम भएको बताए ।

संस्थाका अध्यक्ष जगदीश भट्टराईले, सहकारीलाई सूचना प्रविधि मैत्री बनाउँदै स्थानीय, प्रदेश र केन्द्रीय सरकारले अघि सारेका आर्थिक विकासका पाटामा सँग संगै सदस्यहरुको चौतर्फी विकासमा अग्रसर बनाउँने सोंचका साथ कार्यक्रम गरिएको बताए । सहकारी अभियन्ता तथा संस्थाका पूर्व अध्यक्ष भीमसेन कार्कीले, लघुवित्तले आर्थिक अनुशासनलाई बढावा दिने हुँदा विपन्नवर्गको लागि यो कार्यक्रम महत्वपूर्ण भूमिका खेल्ने बताए ।

संस्थाका सञ्चालक समितिका सदस्य अजयमान कर्मचार्यले जिल्लाको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए । संस्थाका सचिव अरुणकुमार श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा पाँच बुँदे घोषण पत्र जारि गरेर सम्पन्न भएको थियो ।

जिल्ला सदरमुकामा पहिलो पटक लघुवित्त तर्फको सबैभन्दा बृह्त रुपमा भएको कार्यक्रममा संस्थाका सदस्यहरुले बिहान प्रभात फेरी मार्फत बजार परिक्रमा गरि दिउँसो श्रीनगर वनपार्कमा सामुहिक बनभोजमा सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया