
पाल्पाःरिब्दीकोट गाउँपालिका–७, पालुङ्गमा एक घर एक धारा जडानले स्थानीय उत्साहित गरिएको छ । धारा जडानसँगै पानीको खोजीमा कुँवा धाउनुपर्ने वर्षौदेखिको समस्या हटेपछि यहाँका स्थानीयबासिन्दा उत्साहित बनेका छन् । गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले चुर्पुकधारा लिफिटङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तरगत एक घर एक धारा खोलेर उद्घाटन गरेपनि खानेपानीको पहुँच पुगेको हो । गाउँपालिकाको एक करोड ९० लाख १४ हजार ७ सय ४६ रुपैयाँको लागतमा २०७५ बैशाख १३ गतेदेखि निर्माण कार्य सुरुवात गरी ०७६ फागुन ९ गते सम्पन्न भएको थियो ।
खानेपानीको मुहानमा पचास हजार लिटर क्षमता रहेको टयांकी र मुहान देखि पाच सय मिटर टाडा पचास हजार लिटर क्षमता भएको टयांकी निर्माण गरिएको छ । टयांकीबाट संकलित पानी स्थानीयबासिन्दाका घरका धारामा पठाउन व्यवस्था गरिएको छ । प्रत्येकका घरमा दैनिक एक घण्टा पानी आउँदा स्थानीयबासिन्दा उत्साहित छन् । धारामा पानी आउन थालेसँगै स्थानीयबासिन्दाको पानीका लागि समय खर्चिनुपर्ने बाध्यता हट्दा समय बचत भएको छ ।
चुर्पुकधाराको पानीलाई लिफ्त मार्फत डाडा बस्तीमा खानेपानीको पहुँच विस्तार गरिएको छ । म्यालपोखरा, घरलीक, आलिप, चौरटोल, बाहुनडाडा, एवाखर्क लगायतका बस्तीमा खानेपानीको धारा जडान गरिएको हो । यहाँका ६५ घरपरिवारमा एकएक ओटा धारा जडान गरिएको छ । जडानपछि ३५२ जनाले खानेपानीको सुविधा घरघरमा प्रयोग गर्छन् ।
गाउँपालिका अध्यक्ष जीसीले खानेपानीको अभाव रहेको बस्तीमा एकघर एक धारा जडान गरी समस्याको समधान गर्न थालिएको बताउनुभयो । खानेपानीको एक घर एक धारा जडान पनि स्थानीयबासिन्दामा खुसी ल्याएको अध्यक्ष जीसीले बताउनुभयो । खानेपानी समस्यालाई हल गर्ने गाउँपालिकाको पहिलो प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष जीसीले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले घरघरमा पानीका धारा जडान गरेपछि महिलाले सबैभन्दा सुविधा प्रयोग गरेको बताउनुभयो । महिलाहरुलाई खानेपानीको सुविधा आएपछि आयआर्जन गर्ने लागेर आम्दानीको स्रोत बढाउनुपर्ने गाउँपालिका उपाध्यक्ष खनालले बताउनुभयो । गाउँपालिका प्रशासकीय अधिकृत ऋषिराम अर्यालले पानीको सुविधा उपयोग गर्दै तरकारी खेती गरी प्रशस्त आम्दानी गर्नुपर्ने बताउनुभयो ।
पानीका लागि खर्चिनुपर्ने समयमा अब आयआर्जनका लागि समय खर्च गरी आम्दानी गर्नुपर्ने अर्यालले बताउनुभयो ।बर्षौदेखि खानेपानीको समस्या हल भएपछि यहाँका महिला तथा बालबालिका बढी खुसी देखिएका हुन । बिहानको समय पानीका लागि खर्चिनुपर्ने बाध्यता थियो । स्कुल पढने बालबालिकाले पानी बोक्ने समयमा लेखपढ गर्न पाउने भएपछि खुसी देखिएका हुन । स्थानीयबासिन्दा मीना गाहाले घरघरमा पानीका धारा जडान पछि आफुलाई धेरै सजिलो भएको बताउनुभयो । पानीका लागि समय खर्चिनुपर्ने बाध्यता हटेकोले ठुलो परिर्वतन आएको गाहाको दावी छ ।
विहान १० बजेसम्म दुई तीन गाग्री पानी ल्याउनुपर्ने बाध्यता थियो । अहिले घर घरमा पानीका धारा जडानपनि विहानमा घाँसपात तथा भान्साको काम गर्न सजिलो भएकोे स्थानीयबासिन्दा गोमान सिह गाहाले बताउनुभयो । “पहिला एक गाग्रो पानीका लागि एक घण्टा समय खर्चिनुपर्ने बाध्यता थियो, अहिले घरमा नै पानीका धारा जडान हुँदा खुसी लाग्यो,” गाहाले भन्नुभयो ।
स्थानीयबासिन्दा पूर्ण बहादुर गाहाले पहिला घैटामा पानी बोक्नुपर्ने बाध्यता रहेको बताउनुभयो । रातिनै पानीका लागि कुँवा जानुपर्ने बाध्यता हटेकोमा पूर्ण बहादुरको परिवारमा खुसीको सिमा छैन । चौरटोलकी टुकीकुमारी गाहाले केटाकेटीलाई झोला, डोकोमा पानीका भाडा बोकाएर ल्याउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।
बालबालिकाहरु नियमित रुपमा विद्यालय जाने बाटो खुलेको गाहाको दावी छ । पानीकै कारण बालबालिकाहरु स्कुल जानबाट बञ्चित रहेको स्थानीयबासिन्दाको भनाई छ । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाभित्रकै दुर्गम क्षेत्रका रुपमा पालुङ्गलाई लिइन्छ । तर, पछिल्ला बर्ष सडक, खानेपानी र सञ्चार लगायतका क्षेत्रमा यहाँका स्थानीयबासिन्दाको पहुँच विस्तार हुँदै आएको स्थानीयबासिन्दा कृष्ण थापाले बताउनुभयो ।