पाल्पा महासंघको निर्वाचनमा २९ जनाकाे उम्मेदवारी, विवरणसहित

पाल्पा । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुन लागेको निर्वाचनमा पाल्पा शाखाबाट नँया नेतृत्व चयनका लागि विभिन्न पदमा २९ जनाले उम्मेदवारी परेको छ ।

विगतका वर्षहरुमा सहमतिबाटै नेतृत्व चयन हुँदै आएकोमा याे पटक भने निर्वाचनका लागि उम्मेदवारी परेको हो ।

आईतबार नेपाल पत्रकार महासंघको निर्वाचन कार्यालयमा कूल २५ पदका लागि २९ जनाले उम्मेदवारी दर्ता भएको छ । जस अन्तरगत अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

प्रेस चौतारी नेपालबाट कमलराज तिमिल्सीना, प्रेस सेन्टरबाट रेखीराम राना र स्वतन्त्रबाट जीवलाल सुवेदीले उम्मेदवारी दिएका छन् । त्यसैगरी, उपाध्यक्षमा नेपाल प्रेस युनियनका सभापति भरत शर्मा, महिला उपाध्यक्षमा प्रेस चौतारीको सिर्जना घिमिरेको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा खुला एक र महिलामा एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु दुवै जना निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिव पदका लागि प्रेस चौतारीका कृष्ण कार्की, यज्ञमुर्ति तिमिल्सीना तथा स्वतन्त्र पत्रकार महासंघका भोजराज भट्टराईको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदका लागि नेपाल प्रेस युनियनका मुक्तिप्रसाद न्यौपानेको मात्र उम्मेदवारी परेको । त्यस्तै खुला सह–सचिवमा नारायण न्यौपाने, रिमा सोमै र समावेशी सह–सचिवमा कृष्ण दर्नालले उम्मेदवारी दिएका छन् । जसमा रिमा र नारायण बिच निर्वाचन हुने देखिएको छ ।

दलित सदस्यमा विजय बौडेल, अल्प संख्याकमा रन बहादुर कुमाल, समावेशीमा अनिल लिगलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै खुला सदस्यमा ४ पदको लागि कृष्ण प्रसाद पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल, सितादेवी डोटेल, सुनिल कार्की, दयाराज न्यौपाने, अमृत अधिकारी, विष्णु प्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए ।

महिला सदस्यमा भने कसैको उम्मेदवारी परेको छैन । यसैगरी ३ वटा राष्ट्रिय परिषद सदस्यमा भगवान भण्डारी, देव पचभैया, गिता ज्ञवाली र केशव नेपालको उम्मेदवारी परेको छ । जसमा महिला तर्फ ज्ञवालीको र्निविरोध तथा अन्य दुई पदका लागि ३ जनाको प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै प्रदेश परिषद सदस्यमा नरभुपाल विश्वकर्मा मिलन र सुकुम नेपालीको उम्मेदवारी परेको छ । उम्मेदवार उपरको दाबी–विरोधका लागि आइतबार साँझ ६ बजेदेखि सोमबार अपराह्न साढे १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ  ।

उम्मेदवारले सो दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार साँझ ४ बजे गरिने निर्वाचन अधिकृत जोगबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer