‘यास’ चक्रवातको प्रभाव कायमै, भारी वर्षा र हिमपातको सम्भावना!

काठमाडौं । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभाव शुक्रबार पनि देशका अधिकांश क्षेत्रमा परेको छ ।

बुधबार बेलुकादेखि शकृय भएको वायुका कारण शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुका कारण देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था सृजना भएको छ । यो अवस्थासँगै धेरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो र राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ महाशाखाले जनाएको छ । यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको छ ।

महाशाखाका मौसमविद् मीन कुमार अर्यालले दिएको जानकारी अनुसार शनिबार अपराह्नबाट क्रमशः सुधार हुँदै जानेछ । शनिबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने छ । तर मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मात्र छ ।

आइतबार राति भने प्रदेश १ र प्रदेश २ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

मौसममा आएकाे बदलीका कारण शनिवारदेखि विश्वको सर्वोच्व शिखर सगरमाथामा हिमपात भएको छ भने केही दिन कुनै पनि हिमाल आरोहणका कार्यक्रम नर्गन पनि महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया