
तानसेन । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा सवारी रोकेर पहिरो सफा गरिने भएको छ ।
गत आइतबार पहिरो खसेर पटक पटक अवरुद्ध हुँदै आएको तानसेननगरपालिका –८, को तल्लो डुम्रेमा पहिरो हटाउन बिहीबार र शुक्रबार बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने भएको हो ।
दुई तर्फी रुपमा ससवारी संचालन गर्नका लागि पहिरो हटाउन दुई रात एम्बुलेन्स बाहेकका सबै सवारी रोकेर काम गरिने निर्णय भएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।
सडक डिभिजन पाल्पाले पहिरो हटाउनका लागि सडक बन्द गर्नुपर्ने पत्रानुसार पहिरो पिन्छाउन सवारी आवागमन रोक गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
दिनको समयमा धेरै यात्रुको चाप हुने उक्त सडकमा रातको समयमा पहिरो पन्छाउने काम गर्न लागिएको पनि स्थानीय प्रशासनले जनाएको छ ।
उक्त स्थानमा पहिरोका कारण तीन दिनसम्म सडक अवरुद्ध भएको थियो भने पहिरोले एक घर पुरेको र चार घरमा क्षति पुर्याएको छ ।