
काठमाडौं। आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरुलाई न्याय गरेको बताए। उनले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको भन्दै यस उपन्यासले तिब्बतीको समस्या समेटेको बताए । तिब्बती शरणार्थीको समस्या राजनीतिक समस्या भएतापनि यसलाई राजनीतिको आँखाबाट मात्र होइन मानविय आँखाबाट पनि हेरिनु आवश्यक रहेको भन्दै दुङाले तिब्बती समस्यालाई मानवीय समस्याको रुपमा र्हेन प्रेरित गरेको अध्यक्ष पोखरेलले बताए ।
हिमालयन बुद्धिजम अन्वेषक डा.रमेश ढुंगेलले तिब्बती शरणार्थीको मुद्दा पछिल्लो समय नेपालमा हराउदै गएको अवस्थामा यस कृतिले केहीहदसम्म शरणार्थीको मुद्दालाइ उजागर गरेको बताए । दुङाललाई आधुनिकताबादमा परम्परा र इतिहासको संमिस्रण रहेको उनको भनाई छ ।
कार्यक्रममा टिएन भट्टले यस उपन्यासले शरणार्थी बन्नुपर्दाको पीढा साथै मानविय संवेगलाइ स्पष्ट पुस्तकमा उतारिएको बताएका थिए ।
पत्रकार एवं समिक्षक राजकुमार बाँनियाले नेपालमा तिब्बती विषय चिन विरोधी रुपमा लिने गरिएको भएतापनि यस उपन्यासले नितान्त मानविय संवेग र प्रेमलाई समेटेको बताए ।
कार्यक्रममा तिब्बती शरणार्थी एंव पाठक टासी छिरिङले उपन्यासले यथार्थमा आफ्नो कथा समेटेको बताउदै पहिचान र राष्ट्र विहिन हुँदा धेरै समस्या झल्नुपरेको बताए ।
सांग्रील बुक्सद्धारा प्रकाशित दुङालको मुल्य चारसय चौरासी रुपैयाँ रहेको छ । केशरीको दुङाल तेस्रो उपन्यास हो ।