तानसेन। पाल्पामा करेन्ट लगाएर माछा मार्दा महिलाको मृत्यु भएपछि ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. २ सोमादीका ३५ वर्षीय हुमबहादुर घर्तीमगर, सोही स्थानका ४४ वर्षका हरिप्रसाद पाण्डे, २४ वर्षका अनिल बुढा, ३२ वर्षका पदमबहादुर गाहा र २७ वर्षका धनबहादुर गाहा तथा रिब्दीकोट गाउँपालिका वडा नं. १, का ३० वर्षीय केशव आले रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न थप दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । फरार रहनेमा रैनादेवी छहरा–२, का ३५ वर्षका सूर्य गरम्जा र २८ वर्षका लालबहादुर बुढाथोकी रहेको सूचना अधिकारी त्वातीले बताए ।

पक्राउ गरेका प्रतिवादीलाई अनुसन्धान गरी कारबाहीको तयारी भएको प्रहरीले जनाएको छ। गत मंगलबार घास काट्न खेतमा गएकी रैनादेवी छहरा वडा नं. २, ताङ्सिङ्गलकी ३२ वर्षीया सुमित्रा विकको करेन्टमा परेर मृत्यु भएको थियो ।

खेत नजिकको सर्दी खोलामा माछा मार्नका लागि प्रयोग भएको करेन्ट लागेर अचेत भएकी विकको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्य भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया