तानसेन । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आगामी निर्वाचन बाम गठबन्धन मिलेर हुने बताएका छन् । उनले नेपाली काँग्रेससमेत गठबन्धनमा आउने भन्दै निर्वाचनपछि बामपन्थीहरुको एकताको समेत तयारी भएको बताए ।
शुक्रबार तानसेनमा आयोजित नेकपा एकिकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेललाई सम्बोधन गर्दै मन्त्री खतिवडाले निर्वाचनपछिको नेतृत्व माधब नेपालले गर्ने बताए । उनले केपी ओलीको दम्बका कारण पार्टीहरु अलगिएको बताउदै ओली बाहेकका सबै बामपन्थीहरु एकै स्थानमा बस्नेगरी सबैको सहमति भएको बताए ।
हाल सत्तामा वि।स।२०३६, २०४६ र २०६२/०६३ को परिवर्तनका बेला सहयात्रा गरेका दलहरूको सहकार्य रहेकाले उक्त गठबन्धन आगामी निर्वाचनसम्म रहने दावी उनले बताए । उनले अन्य दल एकैस्थानमा भएपछि केपी ओलीले अब कमल थापाको पार्टीसँग मात्रै सहकार्यमा चुनाव लड्ने जिकिर गरे ।
लोकतान्त्रीक शक्तिहरु बेइमान र कमल थापाहरु एमान्दार भनेर गलत सन्देश फैलाउने कार्यमा ओली लागेको उनले बताए । सबै बामपन्थीहरु एक स्थानमा भएर निर्वाचनमा जादाँ ओलीले राजाबादी शक्तिहरुलाई लिएर निर्वाचनमा जाने बताए । उनले भने,”अब ओलीले कार्यकर्तालाई एउटा काधमा हलो अर्को काधका सूर्य चिन्ह बोकाएर गाई धपाउदै हिड्छन् ।”

नेकपा समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका खतिवडाले केपी ओलीले कम्युनिष्ट आन्दोलको मर्म अनुसार पार्टी र सरकार चलाउन नसकेका कारण आफूहरुले नयाँ पार्टी दर्ता गरेको बताए । ओलीमा रहेको व्यक्तिगत स्वेच्छाचारिता, व्यक्तिवाद, बा प्रवृत्ति, अन्धभक्त प्रवृत्तिले एमाललाई सडकमा पु¥याएको खतिवडाको दाबी छ ।
ओलीलाई एमाले र कम्युष्टि पार्टीले प्रधानमन्त्री र नेता बनाएको हो खतिवडाले भने तर ओलीमा म भएकाले नेकपा र एमाले बन्यो भन्ने अहङ्कार देखियो, त्यही अहङ्कारले ओलीलाई बालुवाटारबाट बल्कोट, बाल्कोटबाट बार्दली र नारायणीको किनारमा पु¥यायो ।
मन्त्री खतिवडाले पाल्पास्थित अस्पतालको अवलोकन तथा अस्पताल व्यवस्थापनका लागि देखिएको जग्गाको व्यवस्थापनमा समेत आफूले चासो दिएको बताए ।
उनले सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरेको बताउदै खोप लगाउन छुटेका सबै नागरिक खोप कार्यक्रममा सहभागी हुन पनि अनुरोध गरे ।
अहिले खोपको कुनै अभाव नभएको बताउदै कुनै पनि नागरिक कोरोना विरुद्धको खोपबाट बञ्चित हुन नपर्ने मन्त्री खतिवडाको भनाई छ। स्वास्थ्य बीमाका सन्दर्भमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर भएको उनले बताए ।



