मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको छ ।

बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरुमा मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । महाशाखाका अनुसार पानी पार्ने मौसमी प्रणाली बिहीबार गण्डकी प्रदेशदेखि प्रवेश गरेको हुँदा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको ’मौसमविद् राजु प्रधानाङ्गले बताए।

यस्तै सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र कर्णाली प्रदेशमा हिमपात भइरहेको उनले बताए । वर्षाका कारण देशभर चिसो समेत बढेको छ । ‘पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सर्दै जाने महनशाखाले जनाएको छ।

 

जसका कारण शुक्रबार तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्को भनाई छ ।

वर्षा र हिमपातको क्रम शुक्रबार दिनभर रहे पनि गण्डकी र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने पूर्वानुमान महाशाखाले गरेको छ ।

तपाईको प्रतिक्रिया