
तानसेन। पाल्पामा आगामी निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारी थालेको छ ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय अहिले मतदाता नामावलीको अध्यावधिकमा जुटेको हो ।
कार्यालयले जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका प्रमुख, पत्रकार, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुसँग अन्तिम मतदाता नामावली अध्यावधिकको लागि छलफल गरी काम अगाडि बढाउन थालेको जनाएको छ ।
कार्यालयले २०७९ बैशाख २९ गते सम्म १८ वर्ष पुरा भएका मतदाताको परिचयपत्र सहितको नामावलीको अन्तिम टुङ्गो लगाउने जनाएको छ ।
आगामी फागुन १९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहका ८१ वटा वडाहरुका मतदाता नामावली प्रकाशित गरी सूचनापाटीमा टाँस गर्ने, वडा–वडाबाट फागुन २० गतेदेखि २२ गतेसम्म नामावलीमा रहेको गल्ती सच्चाउन सिफारिस पठाउने, फागुन २३ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेका व्यक्तिको बसाई सराई, मृत्यु भएमा वा नेपाली नागरिकता त्याग गरेको भए हटाउन जिल्ला निर्वाचन कार्यालयमा वडाबाट सिफारिस गर्ने कार्य गर्ने जनाएकाे छ ।
यस्तै मतदाता नामावली विरुद्ध उजुरी परेका व्यक्तिलाई फागुन २४ गतेसम्म प्रमाणसहित सफाइको मौका दिने, मतदाता नामावली विरुद्ध परेका उजुरी माथी छानविन गरी हटाईएका मतदाताको नाम कार्यालयको सूचना पाटीमा प्रकाशित गर्ने, फागुन २५ गते प्रमाण सहित उजुरी विरुद्ध परेका नामावलीको अन्तिम टुङ्गो लगाउने कार्यतालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख विनोद घिमिरेले बताए ।
फागुन २५ गतेसम्मको अवधिमा वडा–वडाबाट आएको अन्तिम नामावलीको विवरण पुन रुजु गरी प्रकाशन गर्ने, फागुन २६ गते जिल्लामा तयार भएको मतदाता नामावलीको अन्तिम विवरण निर्वाचन आयोगमा पठाउने गरी काम भईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
पाल्पामा २०७४ सालको निर्वाचनमा १ लाख ८१ हजार २ सय ५२ जना मतदाता रहेकोमा २०७८ माघ २४ गते सम्म २ लाख ९ हजार ७ सय ९३ जना मतदाता दर्ता भएको पनि कार्यालयले जनाएको छ ।